विपद् व्यवस्थापन प्रतिकार्य योजना तयार

बागलुङ । बाग्लुङका ४ स्थानीय तहहरुलेले विपद् व्यवस्थापन प्रतिकार्य योजना तयारी थालेका छन् । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नेतृत्वमा स्थानीय तहले योजना बनाएका हुन् । जमिनी नगरपालिका र बाग्लुङ नगरपालिका तथा काठेखोला र बडिगाड गाउँपालिकामा पहिलो चरणका योजना बनेका हुन् । 

स्थानीय तहमै विपद विरुद्धका क्रियाकलाप सुचारु गर्न सकिने क्षमता विकास गर्दै पिडीत, प्रभावित, घाइते र मृतकको सङ्ख्या कम गर्न योजना बनाइएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

योजनाले उद्दार कर्ताको क्षमता विकास गर्ने लक्ष्य समेत राखेको सोसाइटीको बागलुङ शाखाका कार्यक्रम संयोजक श्यामप्रसाद कोइरालाले बताए । ४ वटै स्थानीय तहका हरेक वडामा १२ जनाका दरले खोजी तथा उद्दार कार्यदल समेत तयार पारिएको छ । 

प्रत्येक वडामा ११ देखि १७ जना सम्मको व्यवस्थापन समिति र उद्दार कार्यदल बनाएर आवस्यक चाहिने सामाग्री पनि वितरण गरिएको छ । ‘ती कार्यदल र समूहले प्रारम्भिक रुपमा काम पनि गरिरहेका छन्’, कोइरालाले भने, ‘सबै स्थानीय तहको समन्वयमा सबै वडामा यस्ता कार्यदल र उद्दार समितिहरु बनाउने तयारी छ ।’ 

समिति र कार्यदलमा आबद्ध सदस्यलाई नेपाली सेना, प्रहरी र रेडक्रसले तालीम र चाहिने सामाग्री उपलब्ध गराइदिने बताइएको छ । योजना बनेका गाउँ तथा नगरपरिषदले विपद् व्यवस्थापन ऐन निर्माण गरेर कार्यान्वयनमा ल्याएका छन् ।

गोर्खाको विनाशकारी महा भूकम्पपछि सरकारले विधेयक मार्फत विपद् व्यवस्थापनको नीति ल्याएको थियो । 

गत वर्ष ऐन समेत आएकोले अब हरेक वडातहमै कार्यदल निर्माण हुने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । उक्त योजनामा घटना घटेको पहिलो एकदेखि २४ घण्टा सम्म घटनास्थल पुगेर गरिने खोजीनिती र उद्दार देखि एक महिना सम्ममा राहत, पुनस्थापना तथा अन्य व्यवस्थापन सहितका काम समावेश छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?