भिषण वर्षाका कारण रुकुमको चार खानेपानी आयोजनामा क्षती

रुकुम । गत शनिवार आएको भिषण असिना पानीका कारण चार खानेपानी आयोजनामा क्षति पु-र्याएको छ । 

शनिवार आएको असिना र पानीका कारण पस्चिम रुकुमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको हो । भिषण वर्षाका कारण आएको बाढीले चार वटा खानेपानीका स्रोतहरुमा क्षति पुग्दा ६ सय विद्यार्थी र वडाका २ सय ५८ घरपरिवार खानेपानीको समस्यामा परेका छन् । 

बाढीले ५० लाखमा निर्मीत सामाढुङ्गा खानेपानी आयोजना, ५० लाखमै निर्माण गरिएको दिव्यचच्छु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाखमा निर्माण भएको बल्ले खानेपानी आयोजना र ११ लाखमा निर्माण भएको खर्क खानेपानी आयोजनामा विध्वंस क्षति गरेको सोहि क्षेत्रका वडा सदस्य लक्ष्मण ओलीले जानकारी दिए । 

खानेपानीका मुहानमा रहेका  पाइप र ट्याङ्की बाढीले बगाएको उनले बताए । खानेपानीको मुहानमै बाढी पसेपछि शनिवारदेखि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उनको भनाइ थियो । त्रिवेणी– १ का तीन गाउँ र एउटा विद्यालयमा खानेपानीको अभाव भएको छ ।

खानेपानीको आपूर्ति बन्द हुँदा २ सय ५८ घरधुरी तथा एक स्कूलका ६ सय विध्यार्थिलाई खाने पानीको अभाव परेको छ ।  

अहिलेसम्म जम्मा गरेर राखेको पानीले जसोतसो काम चलेको र सकिएपछि खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा उक्त क्षेत्रका स्थानीय परेका छन् । गाउँमा खानेपानीका स–साना मुहान भएता पनि ती मुहानमा पर्याप्त पानी नभएको स्थानीयको भनाइ छ ।

बल्ले खोलामा आएको बाढीले स्थानीयका दुई वटा घट्टसमेत बगाएको छ । बल्लेका मेवालाल ओली र लग्रेका हरिबहादुर केसीको घट्ट बाढीले बगाएको हो । त्यस्तै उक्त बाढीका कारण वडाध्यक्ष मोहनकिशोर ओलीको घरसमेत जोखिममा परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?