गाउँपालिकाको आफ्नै क्याम्पस !

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको पहलमा क्याम्पस संचालन हुने भएको छ । सदरमुकाम तौलिहवादेखि दक्षिण पूर्वमा क्याम्पस नरहेकाले साउनदेखि गाउँपालिकाले क्याम्पस संचालनमा ल्याउन लागिएको हो । 

मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका स्थानीयको समस्यालाई ध्यानमा राखेर क्याम्पस संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष वजरंगीप्रसाद कुर्मीले जानकारी दिए । भौतिक पूर्वाधार निर्माण नभएसम्म तत्कालका लागि मायादेवी गाउँपालिका–१ पकडीस्थित श्री छात्रपाली तिर्थादेवी उच्च माविमा कक्षा संचालन गर्ने उनले बताए । क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि वाडानम्बर ८ मा रहेको जग्गामा क्याम्पसको भावन बनाउने गाउँपालिकाले निर्णय गरेको छ । 

२०७६ साउनदेखि चार वर्षे बीएडका कक्षा संचालन गर्ने तथा क्याम्पसको संचालन तथा व्यावस्थापन गाउँ शिक्षा समिति पकडी कपिलवस्तु र मायादेवी गाउँपालिकाले गर्ने निर्णय भएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । 

पकडीमा क्याम्पस संचालनको लागि विगतमा छात्रपाली तिर्थादेवी उच्च मावि कपिलवस्तुले पहल गर्दै आए पनि संचालन गर्न सकिरहेको थिएन । गाउँपालिकाले क्याम्पस संचालन गर्न लागेपछि स्थानीयले भने सहज हुने अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?