बेनी– म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित संघर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो ।
उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन गरे ।
जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको संघर्ष समितिका संयोजक विश्वकर्माले बताए । जिसस प्रमुख केसीले छुवाछूतलाई कानूनी रूपमा हटाइए पनि व्यवहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकामा जोड दिए ।
कार्यक्रममा पूर्वसभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानूनबमोजिम कारवाही हुनेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया