काठमाडौं । सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।
उनले प्रतियोगितामा सहभागिताका लागि तीन विभागीय, विभिन्न प्रदेश तथा क्लबलाई आमन्त्रण गरे पनि अहिलेसम्म ६ टोलीको मात्रै टुंगो लागेको उनले बताए । महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २०७० सालदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने अध्यक्ष खड्काले जानकारी दिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख ९९ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।
यस्तै उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष खड्काले जानकारी दिए । यसअघिको विजेतालाई तीन लाख, उपविजेतालाइ एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी सातौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मान गरिने भएको छ । बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद्, बागमती प्रदेश, विभिन्न नगरपालिका र कर्पोरेट हाउसहरुले सहयोग गरेको अध्यक्ष खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया