सामाजिक विकास मन्त्रालयको सहयोगमा रंगशाला निर्माण

घोराही । उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ ।

प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि ५० लाख छुट्याइएको छ ।

सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ । उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।

रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब २७ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उनले बताए । नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताए । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उनले जानकारी दिए ।

नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?