काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष शुभारम्भ गरिएको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण अभियानलाई सिंहदरबार परिसरमा एभोकाडोको विरुवा रोपी निरन्तरता दिएका छन् ।
सरकारले आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रुपमा मनाउन कार्यक्रम तथा नीति बजेटमार्फत घोषणा गरिसकेको छ । साथै कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलका विरुवा उत्पादन गर्ने तथा बाँझो तथा खाली जमीनमा फलफूलमा विरुवा रोप्ने नीति अवलम्बन गरिएको छ ।
सोही नीतिको कार्यान्वयन गर्ने सिलसिलामा आजको अभियानलाई निरन्तरता दिँदै सरकारले राष्ट्रव्यापी रुपमा विस्तार गर्न सरकारका सबै निकाय, स्थानीय तह, गैरसरकारी संस्था एवं नागरिकमा विन्ती गरेको छ ।
सरकारले अभियानअन्तर्गत गत वर्ष मुलुकभर कागती, अलैंची, सुन्तला, आँप, लिची, केरा स्याउ, अम्बा, अनार, जुनार, ओखर, लप्सी, किबी, अङ्गुर, अमला, मेवा, मौसम, नासपाती, एभोकाडो, हलुवावेदलगायत फलफूलका २३ लाख १६ हजार ७३९ विरुवा रोपण गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विश्व वातावरण दिवसका अवसरमा राष्ट्रिय योजना आयोगको सचिवालय परिसरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिहरु उपस्थिती थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया