काठमाडौं । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेको सेयर बजार कारोबारमा साताको अन्तिम कारोबार दिन पनि सुधार आएन । बिहीबार बजार परिसूचक १९.५६ अंकले घट्दै १९७२.१४ विन्दुमा बन्द भएको छ । कारोबार रकम पनि लगातार घटेको छ ।
५३ लाख ४४ हजार ६१३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९ करोड ३६ लाख रुपैयाँ छ । यसअघि गत मंगलबार बजार १४.८१ अंकले घटेर नेप्से परिसूचक १९९१.७१ विन्दुमा रह्ँदा कारोबार रकम २ अर्ब १० करोड ३० लाख रुपैयाँ थियो ।
सोमबार २ अर्ब ७९ करोड ७५ लाख र आइतबार बजार कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो ।
१३ उपसमूहमा आज पनि सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो । लघुवित्त, उत्पादन तथा प्रशोधन, विकास बैंक उपसमूह अधिक घटेका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये २ सय ११ वटाको सेयरमूल्य घट्दा लगानीकर्ता नोक्सानमा छन् । २७ कम्पनीको सेयरमूल्य बढ्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
खानीखोला हाइड्रोपावर, पोखरा फाइनान्स, एनआइसी एसिया ग्रोथ फण्ड–२, मध्य भोटेकोसी जलविद्युत, पिपुल्स पावरलगायत बढेकाको सूचीमा छन् । सर्किटस्तरमा बढ्ने कम्पनी भने छैनन् ।
सर्वाधिक कारोबार हुने सेयर गोर्खाज फाइनान्सको रह्यो । उक्त फाइनान्सको १७ करोड ८२ लाख रुपैयाको सेयर किनबेच भएको छ ।
यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५ लाख, पोखरा फाइनान्सको ७ करोड ३७ लाख र शिवम् सिमेन्टको ५ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयरमूल्य घटेका कम्पनीमा रुरु जलविद्युत परियोजना यो साता दोस्रो पटक परेको छ । गोर्खाज फाइनान्सको पनि घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया