विश्वमै लोपोन्मुख गिद्ध सिरहामा भेटिए

सिरहा । विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध बलानखोलामा एकै स्थानमा एक दर्जनभन्दा बढी देखापरेका छन् । बलानखोलामा केही दिनयता दर्जनभन्दा बढीको सङ्ख्यामा गिद्ध विचरण गरेको देखिएको छ ।

सो स्थानमा विषेशगरी गिद्ध बस्ने सिमलका रुख भएकाले खैरो रङका बूढा गिद्ध देखिएका छन् । स्थानीय ललीत गुप्ताले १५ सम्म गिद्ध गनेको बताए । उनले भने, ‘मैले दुई दिनदेखि गिद्ध गनिरहेको छु, पहिलो दिन १४ थिए भने दोस्रो दिन २० थियो ।’

गिद्ध देखेपछि स्थानीयवासीको ठूलो घुइँचो लाग्ने गरेको स्थानीयवासी भगवतीप्रसाद पासवानले जानकारी दिए । नेपालमा आठ प्रजातिका गिद्ध पाइन्छन् । तीमध्ये चार प्रजातिका अति लोपोन्मुखको सूचीमा रहेका कुशहास्थित मसिलाल जनता उच्च माध्यमिक विद्यालयका प्रार्चाय हंसनारायण मेहताले बताए ।  

उनका अनुसार डङ्गर, सानो खैरो, सुनगिद्ध र सेतोगिद्ध अति लोपोन्मुखको सूचीमा छन् । यी प्रजातिका गिद्धलाई एशियामै अति लोपोन्मुखको सूचीमा रखिएको बताइएको छ । अहिले नेपालमा हिमाली, खैरो राज र हाडफोड प्रजातिका गिद्ध बढी पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?