काठमाडौं– सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आउँदा व्यापक क्षति भएको छ ।
साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको हो ।
प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट कम्तीमा २५ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।
हावाहुरीका कारण धनगढीमा १५ जना घाइते भएका छन् । यस्तै रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले जानकारी दिए ।
आँधीहरुबाट जिल्लाभरको जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न छ । अहिले प्रहरीले उद्दार कार्य जारी राखेको उनले बताए ।
यस्तै कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट १० जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया