हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्था केन्द्रको रूपमा रहेको बालाजु –नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले अनुपम छ । चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्छ ।
उक्त जात्रामा तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका र काठमाडौँ महानगरपालिका वडा नं. १६ को पाँच वटा खट बालाजु बाइसधारामा ल्याइन्छ । पूणिर्मामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन् । यसै दिन मन्नादीु देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरेमा बढी फलिफाप हुने विश्वास रहिआएको छ । त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने, पाप पखालिने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
यसैगरी हरेक बर्ष चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूप र चैत पूणिर्माका दिन बालाजुको बाइसधारा स्नान गर्दै स्वयम्भू स्तूपसम्म लाग्ने तिमालजात्रा तिमाल भेगका तामाङहरूको प्राचीन कालदेखि नै जात्रामा घना सहभागिता रहन्छ । तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन् । यद्यपि जात्रामा नेपालका साथै भारत, बर्मा, भुटानदेखि नै तामाङहरू स्वयम्भू र बौद्धमा आउँछन ।
तिमाल जात्रामा सहभागी हुन आउने तामाङहरूको चैत पूणिर्माको अघिल्लो दिन बौद्ध स्तूपमा सबेरैदेखि भीड लाग्छ, दिन रातभर मृतकहरूको मुक्तिका लागि बत्ती बाल्ने गरिन्छ । बत्ती बौद्ध स्तूपको प्रदक्षिणा गरी, मानेहरू घुमाउँदै स्तूपको उत्तरतर्फको तेस्रो तल्लामा रहेको १०८ खोपामा दाहिने पारी घुम्न थाल्ने गरिन्छ अनि लामा पुरोहितलाई मृतकको मुक्तिका लागि पाठपूजा पनि गर्न लगाइन्छ। यसरी तीर्थस्थलमा बत्तीहरू बाल्दा धर्मका साथै मृतकको आत्मा भड्किरहेको भए पनि मुक्त भई अभिताम लोक (स्वर्ग) मा पुग्छ भन्ने विश्वास रहेको छ ।
जनश्रुति अनुसार काठमाडौं उपत्यका दहका रूपमा रहेका बेला विपश्वी बुद्धले (जामाचो) नागार्जुनको डाँडाबाट यस दहको अवलोकन गरी चैत पूणिर्माका दिनमा हालको गुहेश्वरी रहेका ठाउँमा कमलको फूल रोपेकाले त्यसैको स्मरणार्थ जात्रा मनाउन थालिएको मान्छ । पछि सोही फूलमा आश्विन शुक्लपूणिर्माका दिन स्वयम्भूको ज्योति उत्पन्न भएपछि यस ज्योतिको दर्शन गर्न शिखी बुद्ध, विश्वभु बुद्ध, मञ्जुश्री, कनकमुनि बुद्ध, काश्यप बुद्धलगायत अलौकिक बुद्धहरू र बौद्धधर्मावलम्बीहरू देशदेशावरबाट आएको पाइन्छ । यसबाट यस जात्राको उत्पत्ति स्वयम्भू स्तूप निर्माणको पृष्ठभूमिबाटै भएको अनुमान गर्न सकिन्छ ।
नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गे धारा स्थापना गराएका थिए । पछि वि.सं. १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठुलो ढुङ्गे धारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया