दलित जनप्रतिनिधिको गुनासो, ‘हामीलाई कुनै कार्जेमा निम्तो दिँदैनन्’

रुपन्देहीको स्थानीय तहमा दलित महिला सदस्यका रुपमा निर्वाचित जनप्रतिनिधिले विवाह, व्रतबन्ध र पूजामा आमन्त्रण नगरेर जातीय विभेद गरेको गुनासो गरेकी छिन् ।

बुटवलमा सोमबार लेखन र प्रकाशनका लागि मिडियासँग सम्बन्ध विस्तार कार्यशालामा उनीहरुले गैरदलित जनप्रतिनिधिलाई जस्तो आफूहरुलाई आत्सम्मान नभएको बताए । “हामीलाई समान अवसर दिने भनिएको छ तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जातीय विभेद भएको छ”, बुटवल उपमहानगरपालिका–१३ की वडा सदस्य सरस्वती परियारले  भनिन् । उनले भनिन् , “कानूनमै अनिवार्य गरिएकाले हामी जनप्रतिनिधिका रुपमा निर्वाचित भयाँै तर समान अवसर पाएका छैनौँ ।”

बुटवल उपमहानगरपालिका–१६ की वडा सदस्य निरु विकले विगतको तुलनामा भन्दा अहिले विवाह, व्रतबन्ध र पूजामा निजी विषय बनाएर आमन्त्रण गर्न छोडेको उल्लेख गर्दै जातीय विभेदको कुनै विषयसँग तुलना हुन सक्दैन भनिन् ।

अर्का जनप्रतिनिधि माया बराल विकले आरक्षण कोटाले अवसर प्राप्त भए पनि जिम्मेवारी नपाएकामा चिन्ता व्यक्त गरिन् । स्थानीय पत्रकार सोना खातिकले आफूमाथि भएको जातीय विभेदविरुद्ध जागरुक हुन आग्रह गरिन् ।

पूर्व सभासद् विनोद पहाडीले जातीय विभेदको विषय राष्ट्रिय एजेण्डा हुनुपर्नेमा जोड  दिए । राससका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंले सञ्चारमाध्यमले सामाजिक विषयलाई अघि ल्याएर बहस गराउँछ भने । कार्यशालाको पत्रकार हरिबहादुर थापाले सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?