काठमाडौं । नाटक ‘म्यारीज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा नाटक ‘म्यारीज प्रपोजल’ कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।
संगीत सापकोटा र आशीष घिमिरेले नाटकलाई निर्देशन गरेका हुन् । कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक जेठ १० गतेदेखि जेठ २७ गतेसम्म मञ्चन गर्न लागिएको निर्देशकद्वयले बताए ।
निर्देशकका अनुसार, नाटकले विसंगतिवादी विषयवस्तुलाई समावेश गर्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेको छ । सन् १८९० को विषयवस्तुलाई समावेश गर्दै अहिलेको परिस्थितिसापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ ।
सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलाहवादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।
नाटकमा ४ जना पात्रहरू रहेका छन् । जसमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय रहने छ । उक्त नाटकलाई सन् २०१८ मा ३ जना पात्रहरू मार्फत् मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताको नेतृत्वदायी भूमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ ।
करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट समयावधि तय गरिएको छ । उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो । नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरेको थियो ।
कलाशी प्रोडक्सनले हालसम्म ‘२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया