सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी भक्तपुरबाट पक्राउ

काठमाडौं । सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरीलाई सूर्यविनायकबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीका अनुसार गिरीलाई बिहीबार सूर्यविनायकबाट पक्राउ गरिएको हो । गिरीलाई शुक्रबार सुर्खेत पठाउने तयारी गरिएको छ ।

गत फागुन १२ गते तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहार भएको थियो । भारतीय सुटर प्रयोग भएको गोलीकाण्डमा विनोद गिरी बच्न सफल भएका थिए ।

सुर्खेत प्रहरीले फागुन १३ गते नै प्रहरीले गोली प्रहार गर्ने भारतीय सुटर उत्तर प्रदेशका १९ वर्षीय रोहित राजपूत, राजपुतलाई मोटरसाइकलमा लिएर हिँड्ने कैलालीको गौरीगंगा नगरपालिका २ का १८ वर्षीय इन्द्र विक, सोही स्थानका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले फागुन १३ गते नै सार्वजनिक गरेको थियो ।

हत्या गर्ने उद्धेश्यले गोली प्रहार गरिएको भएपनि विनोद गिरीलाई गोली लागेको थिएन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ गैरीगाउँमा विनोद गिरी चढेको बागमती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा फागुन १२ गते साँझ बाहिरैबाट गोली हानिएको थियो । भे ५ प ६०६१ नम्बरको मोटर साइकलमा पछाडि बसेर आएका भारतीय सुटर राजपुतले गोली प्रहार गरेपनि उनी बच्न सफल भएका थिए ।

प्रहरीले सुरुमा भारतीय सुटर र मोटरसाइकल चालकलाई तत्काल पक्राउ गरी समन्वय गर्ने राजन गिरी र भरत भुललाई तत्काल पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा हत्या योजनाको मुख्य योजनाकार सन्तोष गिरी रहेको खुलेको थियो । त्यसलगत्तै सन्तोष फरार रहेका थिए ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले गत चैत २७ गते सुर्खेत जिल्ला अदालतमा ८ जनाविरुद्ध संगठित अपराध, ज्यान मार्ने उद्योग र हतियार खरखजनाको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले फरारकै सूचीमा राखेर मुख्य योजनाकारका रुपमा सन्तोष गिरी तथा अन्य सहयोगीहरुमा भारतीय नागरिक रोहित राजपूत, इन्द्र विक, भरत बहादुर भुल, राजन गिरी, भरत पाण्डे (फरार) सुरेन्द्र शाही र निर्मल विष्टविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि फरार रही काठमाडौंमा आफन्तको कोठामा लुकिछिपी बस्दै आएका गिरीलाई सूर्यविनायक भक्तपुरबाट पक्राउ गरिएको हो ।

अर्कैको नागरिकता बोकेर हिँड्थे सन्तोष
बिहीबार सूर्यविनायकबाट पक्राउ पर्दा सन्तोषले आफू सन्तोष गिरी नभएको भन्दै अर्कै व्यक्तिको नाममा जारी भएको नागरिकता देखाएका थिए । प्रहरीबाट बच्नका लागि गिरीले अमर राज पुरीको नाममा जारी भएको नागरिकता बोकेर हिँडेको प्रवक्ता रेग्मीले लोकपथलाई बताए । यद्यपि प्रहरी अनुसन्धानपछि उनी नै सन्तोष गिरी रहेको पुष्टि भएको थियोे ।

ठेक्कापट्टा, गुण्डागर्दी र हप्ता असुलीमा संलग्नताको आरोप
सुर्खेत प्रहरीका अनुसार ज्यान मार्ने गरी भएको आक्रमणको मुख्य कारण भनेको दुई गुण्डा समूहको अस्तित्वको लडाइ नै हो । सुर्खेतमा ठेक्कापट्टा, गुण्डागर्दी र हप्ता असुली समेतमा संलग्न विनो गिरी र सन्तोष गिरीको छुट्टाछुट्टै समूह रहेको र एक समूहलाई सिध्याउन सके गुण्डागर्दीमा एकछत्र राज गर्न सकिने भएकाले विनोद गिरीको हत्या गर्ने उद्धेश्यबाट गोली प्रहार भएको थियो । यद्यपि विनोद उक्त घटनामा बच्न सफल भएका थिए ।

सुर्खेतका विनोद गिरी र सन्तोष गिरीविरुद्ध कुटपीट, झैझगडा, गुण्डागर्दी लगायतका थुप्रै उजुरी तथा मुद्दा विचाराधीन अवस्थामा रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?