सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

लोकपथ
0
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरियो । व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो ।

सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ । उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौताको अवधिमा विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

यस वर्ष बजेट सकिएकाले काम रोकिएको कार्यालय प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनले भने, “चालु आर्थिक वर्षमा केही काम भएको थियो, तर अहिले पैसा पनि सकियो, काम रोकिएको छ ।”

चालु आर्थिक वर्षमा अब काम नहुने र वर्षा सकिएलगत्तै काम सञ्चालन गरिने आचार्यको भनाइ छ । आचार्यका अनुसार वर्षा सकिएलगत्तै स्टिलको काम सुरु गर्ने तयारी छ । हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको आचार्यले बताए ।

गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडाँैसँग सम्झौता भएको थियो । कार्यालय प्रमुख आचार्यका अनुसार हालसम्म ८ करोड बजेट निकासा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?