काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका–२ घर भई हाल ललितपुर सातदोबाटो बस्ने ३२ वर्षीय धनेश्वर साह, सप्तरी अगाईनसाइर कृष्ण शवरण गाउँपालिका–३ घर भई ललितपुर इमाडोल बस्ने ३७ वर्षीय सिकेन्दर चौधरी र सिरहा गोलबजार नगरपालिका–६ घर भई काठमाडौं महाराजगंज बस्ने ४२ वर्षीय भविन्द्रनाथ तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले धनेश्वरलाई ललितपुर सातदोबाटोबाट, सिकेन्दरलाई काठमाडौं नयाँ बानेश्वरबाट र भविन्द्रनाथलाई काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
पक्राउमध्ये धनेश्वरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट २० लाख रूपैयाँ, सिकेन्दरले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ र भविन्द्रनाथले मौरिसस पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ७२ हजार रूपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
पक्राउ पश्चात उनीहरूलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया