काठमाडौं । जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट मंगलबारको पेसी सूचीमा चढेको छ ।
निर्वाचन आयोगले दल विभाजन हुने गरी गरेको निर्णय खारेजीको माग गर्दै दायर रिट सुनुवाइका लागि यसअघि नै मंगलबारको पेसी तोकिएको थियो । उक्त रिट न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी तोकिएको हो । यद्यपि उक्त रिट पेसी सूचीको धेरै तल रहेको कारण मंगलबार हेर्न नभ्याउनेमा पर्ने सम्भावना रहेको छ ।
त्यस्तै प्रधानमन्त्रीले लिने विश्वासको मतमा आफूबाट अलग भई बनेको पार्टीका सांसदहरुलाई सहभागी नगराउन दायर रिट पनि मंगलबारकै पेसीमा तोकिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइको पेसी तोकिएको छ । प्रधानमन्त्रीले सोमबार नै विश्वासको मत लिइसकेको भएपनि उक्त रिट मंगलबारको पेसी सूचीमा चढेको हो ।
जनता समाजवादी पार्टी (जसपा), नेपाल फुटेर जनता समाजवादी पार्टी बनेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले नवगठित जनता समाजवादी पार्टी, त्यसका अध्यक्ष अशोक राई तथा अन्य ७ सांसद र निर्वाचन आयोग समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । यादवले आफ्नो रिटमा अस्तित्वमा नै नरहेको ऐनको व्यवस्था अनुसार पार्टी फुटाएको, केन्द्रीय समितिको ४० प्रतिशत सदस्य उनीहरुसँग नरहेको आदि कारण देखाउँदै दल विभाजन भई नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्नसमेत माग गरेका छन् ।
यादवको रिटमा सर्वोच्चले यसअघि नै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि बोलाएको थियो । तर अन्तरिम आदेश जारी भई थप कुनै निर्णय र कामकाज नगर्नु भनी आदेश जारी भएको अवस्थामा नवगठित जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो । विश्वासको मत नदिनेसम्बन्धी रिटमा रिट जारी भएमा प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्थासमेत आउन सक्नेछ ।
विश्वासको मत लिन रोक्ने रिटमा प्रारम्भिक सुनुवाइ हुने सम्भावना रहेको भएपनि त्यसको औचित्य सकिइसकेकाले उक्त मुद्दालाई समेत लगाउमा राख्ने गरी आदेश हुने सम्भावना समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया