काठमाडौँ, १३ कात्तिक: नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा डा तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ यहाँ आज सम्पन्न ३२ औँ प्राज्ञ सभाले सो पुरस्कार सिफारिशसम्बन्धी प्राज्ञ परिषद्को निर्णयलाई अनुमोदन गरेको सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ । यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने रु एक एक लाख ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ डा वीणा पौडेल घिमिरे र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा रामावतार यादवलाई प्रदान गरिने भएको छ । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ का लागि विमल निभा (विमलकृष्ण श्रेष्ठ) तथा वर्ष २०७४ का लागि धु्रव सापकोटालाई दिइनेछ यस्तै रु एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार २०७३’ अब्दुल लतिफ सौक (उर्दू भाषा) र वर्ष २०७४ को सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइनेछ । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार २०७३’ का लागि पदम राई र २०७४ का लागि धनबहादुर माझीलाई प्रदान गर्ने निर्णय भएको छ । सभाले चालू आवको नीति, कार्यक्रम र बजेट तर्जुमा गरेको छ । सचिव गिरीले चालू आवका रु १६ करोड बजेट विनियोजन गरिएको बताए सभाले प्रतिष्ठानको नियमावली र कलाकार कर्मचारी सेवा शर्त विनियमावलीमा आवश्यक संशोधन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले आज सभाको उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया