पोखरा । विकसित घटनाक्रमपछि आज मंगलबार दिउँसो गण्डकी प्रदेश कांग्रेस संसदीय दलको बैठक बस्ने भएको छ ।
सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा आफ्नो संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश जारी गरेसँगै कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको दलका उपनेता विन्दुकुमार थापाले बताए । सो बैठकले आगामी रणनीतिदेखि मन्त्री चयनसम्मका विषय टुंग्याउने थापाको भनाइ छ ।
सो बैठकका लागि काठमाडौंमा रहेका पाण्डे पोखरा आउँदै छन् । आज साँझसम्म मुख्यमन्त्रीका रूपमा शपथ लिने उनले तयारी गरिरहेका छन् । सर्वाेच्च अदालतले पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न सोमबार साँझ परमादेश गरेको थियो ।
संविधानको धारा १६८ को उपधारा ३ अर्थात् ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्न लागेका पाण्डेले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यद्यपि, सहज भने छैन ।
संसदमा सबैभन्दा ठूलो दल कांग्रेससँग २७ सांसद रहेकोमा ६० सदस्यीय संसदमा बहुमतका लागि चार सांसद आवश्यक पर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई र स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गर्दा पनि बहुमतका लागि अझै एक जना पुग्दैन । यो स्थितिमा बहुमत जुटाउन माओवादी केन्द्रबाट चुनाव लडेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको समर्थन चाहिन्छ । त्यसैले कांग्रेसले अहिलेदेखि नै स्वतन्त्र सांसद गुरुङ, राप्रपा र समाजवादी पार्टीको समर्थन जुटाउन लागेको छ ।
स्रोतका अनुसार, सपथ लिएपछि सानो आकारको मन्त्रिपरिषद गठन गर्ने पाण्डेको तयारी छ । त्यसका लागि पहिलो रोजाइमा
राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ र दीपक मनाङे छन् । यद्यपि, राप्रपा भने तत्काल सरकारमा नजाने तर कांग्रेसलाई सघाउन तयार देखिएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठको भनाइले पनि यो पटक राप्रपा कांगे्रसलाई सघाउन तयार रहेको देखिन्छ । उनी भन्छन्, ‘अहिले फरक परिस्थितमा हामी कांग्रेसलाई सघाउन तयार छौं, हामी तत्काल सरकारमा जाँदैनौँ तर समर्थन भने गर्छाैं ।’
नीति तथा कार्यक्रम अनि बजेट बनाउनुपर्ने भएकाले पनि पाण्डेमाथि तत्काल अर्थमन्त्री नियुक्त गर्नुपर्ने बाध्यता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया