काठमाडौं । विभिन्न स्थानमा सावारी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–१४ रातानाङला मोडस्थित सडकमा सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे.१ च २५६० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सडकबाट करिब ४ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका ४ जना पुरूषको घटनास्थलमै मृत्यु भएको हो।
साथै दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार अन्य २ जनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।
यसैगरी मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.६ च ९३७९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कारमा सवार मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपालीसमेत ३ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सहकारी अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोटस्थित सडकमा गोठलापानीबाट झुलाघाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५०० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा जिपमा सवार एक जनाको मृत्यु भएको छ ।
सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका–६ सित्तड बस्ने २१ वर्षीया मिना जोशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषाको जनकपुर उपमहानगरपालिका–१४ भाटभटेनी नजिकै सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स.७ प ४३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–१ बस्ने ५० वर्षीय सचितानन्द चौधरी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएको उनको जानकी हेल्थ केयर जनकपुरमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी बाँकेको डुडुवा गाउँपालिका–४ मलई पुरूवास्थित सडकमा भे.१ त ३२३५ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ साहपुरूवा बस्ने ३८ वर्षीय नरेश खटिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१४ नहरको बाटोमा गणडकबाट बारातर्फ जाँदै गरको ना.१६ प ३४४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–५ बहुअरी टोल बस्ने ३७ वर्षीय देव कुमार पटेल रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा मेडिसिटि अस्पताल वीरगंजमा उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया