काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो ।
टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले भिसा दिन आनाकानी गर्दा उनी विश्वकप खेल्न जान पाइरहेका छैनन् ।सरकारले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउनका लागि भिसा दिन दूतावासलाई नोट लेखिसकेको छ । त्यस्तै, उनलाई भिसा दिन माग गर्दै बिहीवार मात्रै माइतीघरमा समर्थकहरूले प्रदर्शन गरेका थिए ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई विश्वकपमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो ।
यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो ।
टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया