जनकपुर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलहरुको तर्फबाट आज शुक्रबार प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरिएको छ ।
जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा यथावत् रहिरहेका बेला विपक्षी दलहरु नेकपा एमाले, माओवादी र जनमत पार्टीका तर्फबाट दाबी पेस गर्ने तयारी भएको हो ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्न लागेको दाबी गर्दै आज प्रदेश प्रमुख समक्ष दाबी पेस गरिने जानकारी दिएका छन् ।
एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा छन् । उनले यही जेठ २३ गते विश्वासको मत लिने तयारी गरिरहेका छन् ।
बिहीबार बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरिसकेको छ । सोही सहमतिअनुसार प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी विपक्षी गठबन्धनबाट भएको हो ।
तर, यी तीन दलको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन । त्यसका लागि नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको पनि समर्थन आवश्यक पर्छ । तीन दलबीच हिजो भएको सहमतिमा नेकपा एकीकृत समाजावादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताको हस्ताक्षर छैन ।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले आज लोसपा र एकीकृत समाजवादीका नेताले पनि हिजोको आफूहरुले गरेको सहमति पत्रमा हस्ताक्षर गर्ने दाबी गरे । ‘यी थप दुई दलले हस्ताक्षर गर्दा बहुमत पुग्छ । त्यसपछि बहुमत सांसदको हस्ताक्षरसहित हामी मुख्यमन्त्रीसमक्ष आजै दाबी पेस गर्ने तयारीमा छौं,’ माओवादी संसदीय दलका नेता साहले भने ।
जनमत पार्टीबाट मुख्यमन्त्रीका सम्भावित पात्र महेशप्रसाद यादवले पनि नयाँ सरकार गठनको लागि बनेको विपक्षी गठबन्धनमा नेकपा एस र लोसपा सकारात्मक भएको दाबी गरे । महेशप्रसाद यादव उनै व्यक्ति हुन् जो गत निर्वाचनमा माओवादीले टिकट नदिएपछि जनमत पार्टीबाट उम्मेदवार बनेर विजयी बनेका थिए । उनले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा माओवादीका उमेश यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।
१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठनको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७ सांसद छन् । त्यसैगरी कांग्रेसका २२, जसपाका १८ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया