गृहमन्त्रीलाई पदमुक्त गर्न माग गर्दै दायर रिट न्यायाधीश श्रेष्ठको इजलासमा

लोकपथ
1.6k
Shares

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै दायर रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराई र कानुनका विद्यार्थी अतुल विष्टले दायर गरेको रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको हो ।

सहकारी ठगी प्रकरणको छानबिन गर्दा प्रभाव पार्ने भन्दै गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गरी छानबिन गर्नुपर्ने रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा महान्यायाधिवक्ताले लामिछानेमाथि कुनै उजुरी छैन भनी दिएको पत्रसमेत बदर गर्न माग गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा गृहमन्त्री लामिछानेविरुद्ध जाहेरी रहेको भएपनि महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध कहीँ कतै उजुरी नरहेको भन्दै पत्र दिएका थिए ।

उक्त पत्रले अन्यौलता सिर्जना गरेको र उजुरी रहँदारहँदै पनि छैन भनी अनुसन्धानलाई प्रभावित बनाएको भन्दै महान्यायाधिवक्ताको पत्रसमेत उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ ।

सहकारी ठगी प्रकरणमा पनि उनको संलग्नता रहेको भन्ने आरोप लागेकाले उक्त छानबिन नसकिएसम्म निलम्बनमा राख्न माग गर्दै रिट निवेदन दर्ता गरिएको हो ।

यसअघि जेठ १६ र १७ गते न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा पेसी तोकिएकामा निवेदकको तर्फबाट स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?