काठमाडौं । विभिन्न स्थनाबाट स्रोत नखुलेको रकमसहित आठजना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका–४ घर भएका ५० वर्षीय भिमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनीवेशी नगरपालिका–१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित शनिबार बेलुकी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया