जनकपुरधाम । झण्डै साढे ६ वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालको हातबाट आज बुधबार सत्ता गुम्ने निश्चित भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौं पटक विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । तर राजनीतिक समीकरणमा देखिएको उथलपुथलले उनले विश्वासको मत पाउने देखिँदैन ।
सत्ता गठबन्धनका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वैशाख ३० मा सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन् । पछिल्लो समयसम्म पनि विश्वासको मत पाउनेमा ढुक्कझैं देखिएका मुख्यमन्त्री यादवलाई सरकारम सहभागी दल एकीकृत समाजवादीले हिजो मात्र साथ छाडेपछि उनले विश्वासको मत पाउने सम्भावना देखिँदैन । यसका लागि कुनै राजनीतिक चमत्कार नै हुनुपर्छ ।
यादवले विश्वासको मत नपाएपछि उनको नेतृत्वको सरकार आजै बहिर्गमन हुनेछ । त्यसपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले दावी पेश गर्नेछन् ।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको आवश्यक पर्छ । सो प्रदेशमा जनमतलाई मुख्यमन्त्री दिनेगरी एमाले र माओवादीमा सहमति भइसकेको छ । प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, जनमतका १३ र माओवादीका ९ गरी ४६ जना छन् । एकीकृत समाजवादीको सात मत थपिँदा ५३ पुग्छ । संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक एक थपिँदा ५५ पुग्छ । यी सबै दल एक ठाउँमा उभिँदा विपक्षी गठबन्धनलाई बहुमत पुग्छ ।
प्रदेश सभामा जसपाका १९ र कांग्रेसका २२ सांसद छन् । जसपामा आएको फुटपछि को कहाँ खुल्छन् यकिन हुन बाँकी छ । लोसपाका आठ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा हत्या अभियोगमा अदालतबाट जन्मकैद सजाय पाएकाले निलम्बित छन् ।
पार्टी फुटबाट गम्भीर क्षति भोगेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आज मधेस प्रदेशले फेरि अर्काे झट्का दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया