काठमाडौं । विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर चोकबाट अवैध लागुऔषध जस्तो देखिने खैरो पदार्थ ५ सय ७० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका–७ ताराताल बस्ने ३५ वर्षीय दिनेश मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले भारतबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बुधवारे चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, ट्रामाडोल ६ क्याप्सुल, स्पास्मो ६ ट्याब्लेट र नाइट्रोजन पेन १ ट्याब्लेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ सुर्यमार्ग बस्ने २८ वर्षीय श्याम बहादुर परियार रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले धरानबाट बुधवारेतर्फ जाँदै गरेको को.१ ज ३४०५ नम्बरको सुमो चालक परियारलाई उक्त पदार्थसहित बुधबार दिउँसो पक्राउ गरेको हो ।
त्यस्तैगरी संखुवासभाको खाँदबारी नगरपालिका–१ टुडिखेलस्थित खाजा घरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । भारत बिहार तेत्रीवाडी बस्ने ३० वर्षीय एमडी साहेवजामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–४ पोखरीबाट अवैध लागुऔषध गाँजा करिब ५० किलोग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुलिङटार गाउँपालिका–४ बस्ने ४८ वर्षीय भबिलाल गाहा, ४३ वर्षीय लाल बहादुर सोती र ४४ वर्षीया पदम सोती रहेका छन् । गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट दलदले, इलाका प्रहरी कार्यालय रजहर र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरी टोलीले उनीहरूको घर तलासी गर्दा भबिलाललाई ४ किलोग्राम, लाबहादुरलाई २० किलोग्राम र पदमलाई २६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–१ धिमाल बस्तीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–३ घर भएका ३६ वर्षीय अलाउदिन मियालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुरको पुनर्बास नगरपालिका–१ ढक्काबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । बेलौरी नगरपालिका४ मोतिपुर बस्ने १६ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तैगरी कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने ३० वर्षीय सरोज चौधरीलाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित एकजना पक्राउ परेका छन् । सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरीलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया