भोलिसम्म अत्यधिक गर्मीको सम्भावना

लोकपथ
1.2k
Shares

काठमाडौं । मंगलबार अपराह्न नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्ज नेपालकै तातो ठाउँका रुपमा जानिन्छ । त्यस्तै धनगढीको तापक्रम ४२ डिग्री पुग्दा काठमाडौंको अधिकतम तापक्रम भने ३१ डिग्री सिल्सियस मात्र थियो । तर तराईभन्दा बढी अत्तालिएका देखिन्छन् राजधानीवासी ।

गर्मीको तात्तातो चर्चा काठमाडौंमै बढी देखिन्छ । ‘उफ् गर्मी पनि कति साह्रै बढेको ? पहिलेपहिले त यस्तो उल्का गर्मीको महसुसै भएको थिएन’ काठमाडौं उपत्यकाका नागरिकको वार्तालापको पहिलो बाक्य अहिले यही हुने गरेको छ ।

ललितपुरस्थित गोदावारी नगरपालिकाकी राधा घिमिरेले भनिन्, “गर्मी पनि कति साह्रै बढेको हो ? यसो बाहिरै नै निस्कन सकिँदैन । घरमा मात्रै बस्दाबस्दा अत्यास नै लाग्ने । पहिले त चितवनतिर जाँदा मात्र यस्तो अनुभव हुन्थ्यो, यहाँ यस्तो गर्मी भएजस्तै लाग्दैनथ्यो ।”

काठमाडौं बूढानीलकण्डकी शोभा सापकोटालाई पनि पहिलाभन्दा यसपटक धेरै गर्मी भएको अनुभव भएको छ । “४० वर्ष भइसक्यो काठमाडौँ बसेको, यस्तो गर्मीको अनुभव त छँदै थिएन,” उनले भनिन्, “अत्यार नै लाग्दो गर्मी पनि । अझै तराईमा कस्तो होला ?” उनीहरु मात्रै होइन । सिन्धुली घर भई भक्तपुर लोकन्थली बस्ने दुर्गा तिमल्सिनालाई पनि गर्मीले निकै अत्याएको छ । “अहिलेको जस्तो गर्मी पहिले कहिल्यै अनुभव भएन, गर्मीले रिङ्गटा नै लाग्छ,” उनको भनाइ छ, “पहिलापहिला त काठमाडौं आउँदा पङ्खा नै नलगाई बस्न सकिन्थ्यो, यो पटक त पङ्खाले पनि गर्मी छेक्नै सक्दैन ।”

धनगढी, नेपालगञ्जलगायत तराईका क्षेत्रको जस्तो गर्मी उपत्यकामा छैन, तर अझै यहाँका मानिसहरुलाई गर्मीले अत्याएको छ । त्यो ४० डिग्री सेल्सियस आसपासको तापक्रममा बस्नेहरुलाई गर्मीले कति अत्याएको होला ? घाम भनेर काम छलेर बस्न पनि सबैलाई कहाँ पुग्ला र ? घामको प्रवाह नगरी काम गर्नेहरुलाई कति गाह्रो भएको होला ?

चितवन क्षेत्रपुरकी मीरा धिताललाई पनि पहिला पहिलाको भन्दा यसपटक गर्मी अलि बढेको अनुभव भएको छ । “गर्मीका कारण आएको पसिनाले लुगा नै निथरुक्कै भिजाउँछ, एकदमै गाह्रो बनाएको छ,” उनले भनिन्, “दिउँसोको समयमा त बाहिर निस्कन र काम पर्दा समेत हिँड्डुल गर्न नै मुस्किल पर्छ । बच्चाहरु समेत गर्मीले गर्दा टाउको दुख्यो भनेर पढ्नै सक्दैनन् ।”

गर्मीले साल्लाघारीको जङ्गल पनि उत्तिकै तात्छ । अन्य बोटबिरुवाले जस्तो सालको बिरुवाले शीतलता दिँदैन । त्यसमाथि ४२ डिग्री सेल्सियससम्मको तापक्रमले तातिएको मौसम । तर तातो मौसम भनेर काममा नगई बस्ने छुट हुँदैन, सुदूरपश्चिम, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलाई । तातो मौसममा फिल्ड हिँड्दा निकै गाह्रो हुने र तातोले टाउको दुख्ने समस्या हुने उनी बताउँछन् । “तातो छ भनेर मन्त्रालयभित्र मात्रै बस्ने छुट कहाँ छ र ? फिल्ड हिँड्नु पनि पर्छ । फिल्ड खटाउँदा कर्मचारीहरु बिरामी पर्नुहुन्छ । नखटाएर पनि भएन,” उनले भने, “सरकारी सेवामा खटिने शपथ खाएर आएको हौँ गर्मी भयो भनेर बस्न पनि भएन नि ।”

जल तथा मौसम विज्ञान विभागअन्तर्गत जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले जलवायु परिवर्तनको असरका कारण तापक्रम बढेसँगै गर्मी समेत बढेको जानकारी दिइन् ।

पोखरेलले जलवायु परिवर्तनले मौसमी अवस्थामा पारेको असर, अगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिम, तापक्रमको प्रक्षेपणलगायतका विषयमा जानकारी दिने गरी अध्ययनसमेत भइरहेको जानकारी दिइन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तातो हावाको लहर ’लू’ र यसबाट बच्ने उपाय गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ’लू’ भनिन्छ । यो एक प्रकारको प्राकृतिक प्रकोप हो । प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलले खासगरी नेपालको तराई क्षेत्रमा धेरै गर्मी भएको समयमा तातो हावाको लहर ‘लू’ चल्न सक्ने र यसले स्वास्थ्यमा असर गर्ने भन्दै सचेत हुनुपर्ने जानकारी दिए ।

बढी गर्मीका कारण थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने, हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने, मुटुको धड्कन बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार छाला सुक्खा र रातो हुने, पिसाबको रङ्ग पहलो हुने, सास फेर्न गाह्रो हुने र रक्तचाप कम हुने, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिन सक्छ ।

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिने, बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको चिसो पेयपदार्थ, बियर, जाँडरक्सी नदिने, पङ्खाले हम्कने गर्नुपर्छ । भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने, बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने गर्न समेत सुझाव दिइएको छ ।

जलवायुविद् डा धर्मराज उप्रेतीले समुन्द्री सहतको तापक्रममा फेरबदले (एल निनो टू ला नीना) भएकाले नेपाललगायत एसिया प्रशान्त क्षेत्रमा औसतभन्दा बढी तापक्रम र बढी वर्षा हुने क्रम बढिरहेको भन्दै समयमा नै सतर्कता अपनाउन जरुरी रहेको बताए ।

प्रशान्त महासागरको पूर्वमध्य उष्ण भागको सतहको पानी औसतभन्दा उल्लेख्य धेरै तातेर बन्ने मौसमी प्रवृत्तिलाई अल निनो भनिन्छ । अल निनो सक्रिय भएको समयमा यसले संसारभरिकै वर्षाको स्वरूप र मौसमलाई असर गर्छ र तापमान वृद्धि गर्छ ।

एल निनो नामक मौसमी प्रक्रियामा अस्वाभाविक रूपमा तापमान वृद्धि भएको हुन्छ भने ला निनामा अस्वाभाविक रूपमा तापमान घट्छ । ला निना भूमध्य रेखामा प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा हुने गर्छ । एल नीनोले जस्तै यसले पनि संसारभर वर्षा तथा वायुमण्डण्डलीय चापलाई प्रभावित गर्छ ।

जनस्वास्थ्यविद् डा. समीर अधिकारीले तातो हावाका कारण मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुग्ने जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म नै अत्यधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपाउन भन्दै विज्ञप्ति नै जारी गरेको छ । विभागको अनुसार मङ्गलबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?