नाउपा र जनमुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल

तामाङ र अधिकारीलाई फिर्ता बोलाइने चर्चा

लोकपथ
1.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् । सरकारलाई समर्थन गरेका दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेट्न मन्त्रिपरिषद पुनर्गठन गर्न लागिएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि केही दिनअघिसम्म सकारात्मक नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली बुधबारको भेटमा सकारात्मक बनेपछि प्रधानमन्त्री दाहालले पुनर्गठनको तयारी गरेका हुन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा प्रचण्ड र ओली सकारात्मक बनेपछि पुनर्गठनको तयारी अघि बढेको बताए । उनले भने, ‘सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्ने विषयमा दाहाल र ओलीबीचको हिजोको बैठक सकारात्मक छ । एमाले र माओवादीबाट एक÷एक जना मन्त्री फिर्ता बोलाउने विषयमा सहमति नजिक पुगेको छ । तर निष्कर्षमा पुग्न भने बाँकी नै छ ।’

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि सरकारलाई समर्थन गरेका दलहरूलाई सरकारमा ल्याउने विषयमा सहमतिको बिन्दु खोज्नेतर्फ दाहाल र ओलीबीचको बैठक सकारात्मक भएको बताए । ‘सरकारलाई समर्थन गरेका दलहरूलाई समेट्न कतै न कतै सहमति खोज्नुपर्छ । मन्त्री फिर्ता बोलाउने विषयमा बैठक सकारात्मक छ,’ उनले भने । उनले कुन दलबाट कसलाई फिर्ता बोलाउने सवालमा कुनै सहमति नभएको पनि प्रष्ट पारे ।

स्रोतका अनुसार, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई एक–एक ओटा मन्त्रालय दिनेगरी प्रधानमन्त्री दाहालले छलफल अघि बढाइरहेका छन् । उनीहरुलाई मन्त्रालय दिन पनि केही मन्त्रीलाई फिर्ता बोलाउनै पर्ने बाध्यता प्रधानमन्त्री प्रचण्डलाइ रहेको छ ।

स्रोतका अनुसार, माओवादी केन्द्रबाट मन्त्री बनेका हितबहादुर तामाङ र एमालेबाट बन्त्री बनेका बलराम अधिकारीलाई फिर्ता बोलाइने सम्भावना बढी छ । तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकामा छन् ।

गत फागुन २१ गते एमालेसहितको नयाँ समीकरण बनेपछि एमालेले सरकारमा अघिल्लो वर्षकै सेट पठाएको थियो । माओवादीका तामाङ पनि सोही दिन मन्त्री भएका थिए । मन्त्री भएको तीन महिनामै तामाङको पद धरापमा परेको चर्चा छ ।
आफूलाई सरकारबाट फिर्ता बोलाउन लागिएको विषयमा मन्त्री तामाङले प्रधानमन्त्रीसँग चासो व्यक्त गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्री दाहालले भने मन्त्रीबाट फिर्ता बोलाएपनि केही न केही व्यवस्थापन गरिदिने वचन दिएको स्रोतले भन्यो ।

नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ आफैँ सरकारमा जाने तयारीमा छिन् । उनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्न लागेको केही दिनअघि सार्वजनिकरुपमै बताएकी थिइन् । पछिल्लो समय भने उनले भूमि व्यवस्थामन्त्रीमा दाबी गरेको बुझिएको छ ।

जनमुक्तिबाट भने को मन्त्री बन्छन्, स्पष्ट हुन सकेको छैन । उता, माओवादीमा भने एक दुई जना भन्दा पनि पुराना सबै मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने विषयमा पार्टीभित्र बलियो मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?