लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुखलाई ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण

लोकपथ
455
Shares

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको सजाय निर्धारण भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले सो सजाय निर्धारण गरेको हो ।

अख्तियारले भट्टराईविरुद्ध गत चैत २५ गते मुद्धा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले दुई महिनामै फैसला गर्दै सजाय निर्धारण गरेको विशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता धनबहादुर कार्कीले बताए । भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।

भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए । जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए । भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुस लिएर त्यो जग्गा किनेको अदालतले ठहर गरेको थियो । सो जग्गा जफत हुने फैसला अदालतले यसअघि नै सुनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?