काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार राष्ट्रपतिलाई छ । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएका छन् ।लागुऔषधको कुलतबाट छोरा मुक्त भएको भन्दै हन्टरप्रति गर्व रहेको पनि उनले बताएका थिए । अहिले छोरा धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको उनको भनाइ छ । जी–७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय कम गर्न कदम चाल्छन् कि चाल्दैनन् भनेर सोधेका थिए । ‘म यस विषयमा सन्तुष्ट छु कि म यसबारे केही गर्ने छैन ।
मैले भनिसकेको छु कि जुरीले जे निर्णय गर्छन् मलाई त्यो स्वीकार छ । म यसमा कायमै छु र म हन्टरलाई माफ गर्ने छैन ।’ बाइडेनले भनेका छन् । हन्टर बाइडेनलाई हालै लागुऔषध लिएको र बन्दुक राखेको तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै बाइडेनले उनी दोषी ठहर भए भने सजाय माफी नदिने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया