काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे जवाफ माग गरेको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे।
उनले देशको कार्यकारी व्यक्ति मित्र राष्ट्रको भ्रमणमा जाँदा र आइसकेपछि त्यसको बारेमा सदनमा जानकारी गराउनुपर्ने भए पनि प्रधानमन्त्रीले जानकारी नगराएको भन्दै आपत्ति जनाए।
‘हाम्रो एउटा परम्परा छ, अभ्यास छ। देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जाँदा उहाँ भ्रमणमा जानुभन्दा पहिला सदनलाई उहाँ जाने कार्यक्रम, किन जानेरु, के उदेश्यले जानेरु कतिदिनका लागि जानेरु भनेर जानकारी गराउने एउटा बाध्यात्मक रुपमा नै जानकारी गराउने परम्परा छ। अभ्यास छ। प्रधानमन्त्री जी आज भ्रमणमा जानुभएको १ हप्ता भैसकेको छ। फर्किएर आउनु भएको पनि आज ५ दिन भैसक्यो,’ लेखकले भने, ‘हामी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अत्यन्त धैर्यतापूर्वक, संयमतापूर्वक र रचनात्मक प्रतिपक्षका रुपमा कुरेर बसेका थियौँ। प्रधानमन्त्री सदनमा आउनुहोला भारत भ्रमणका कुरा जानकारी गराउनुहोला भनेर हामी बसेको थियौँ। तर आज पाँच–पाँच दिन पनि उहाँ आउनुभएन मैले उहाँलाई स्मरण गराउनुपर्ने भयो।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत जेठ २७ गते भारत भ्रमणमा गएका थिए। भारतको तेस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागि भएर उनी जेठ २८ गते स्वदेश फर्किएका हुन्।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणबारे पनि सदनलाई जानकारी नभएको भन्दै उनले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखले संसदलाई हेपेको टिप्पणी गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया