काठमाडौं । दुई साताअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ललितपुरको पाटनढोकास्थित चौतारीमा तरकारी बेच्दै आएकी एक वृद्धाको सबै तरकारी किनिदिए । साँझ परिसकेको थियो ।
ती वृद्धाले केही तरकारी बोरामा समेत राखिसकेकी थिइन् । थोरै तरकारी भने भाग लगाएर ग्राहकको पर्खाइमा थिइन् । त्यतिबेला गृहमन्त्री लामिछाने त्यतै जाँदै थिए । एक वृद्धा तरकारी भाग लगाएर ग्राहकको पर्खाइमा रहेको देखेपछि लामिछाने गाडीबाट झरे र ती वृद्धासँग कुराकानी गरे । उनले भाग लगाएर राखिएको सबै किनिदिए । वृद्धाले भनेको एक हजार एक सय रुपैयाँ भन्दा चार सय रुपैयाँ बढी पनि दिए ।
त्यसबेला गृहमन्त्री लामिछानेले ती वृद्ध आमैलाई भनेका थिए, ‘आज तपाईंको सबै सामान मैले किनिदिएँ, यो पैसा लिएर जानू अनि आरामले सुत्नू है आमा !’ एक त मुलुकको गृहमन्त्री । गृहमन्त्रीले आफूले बिक्रीका लागि राखेको सबै तरकारी किनिदिएकोमा उनी दंग परिन् । त्यसमा पनि चार सय रुपैयाँ बढी पाइन् । बढी पाएको चार सय रुपैयाँले उनले त्यस रात मासु भात नै खाइन् । गृहमन्त्री लामिछानेले भनेको ‘आरामले सुत्नू है आमा !’ भन्ने वाक्य झलझली सम्झिइरहिन् । तर उनको खुसी लामो समयसम्म टिक्न सकेन । गृहमन्त्री लामिछानेकै कारण उनको जिन्दगी अहिले बिथोलिएको छ । मनमा चैन छैन । छोरासँग बोलचाल टुटेको छ ।
भयो के भने, गृहमन्त्री लामिछानेले सामान उठाएको भिडिओ उनीसँगै गएकाहरूले खिचेका रहेछन् । त्यही रात उनीहरुले पोष्ट गरे । क्षणभरमै त्यो पोष्ट भाइरहल बन्यो । त्यही भाइरल भएको पोष्टले नै उनको जिन्दगीको सबै खुसी लुटेर लग्यो ।
२२ वर्षअघि सर्लाहीबाट काठमाडौैं उपत्यका छिरेकी उनले गुजारा चलाउनकै लागि त्यहाँ तरकारी बेच्न थालेकी रहिछन् । कहिले सडक छेउछाउ, कहिले चौताराको पेटी । उनले यी ठाउँमा बसेर आफ्नो गुजारा चलाइरहेकी थिइन् ।
यो २२ वर्षको अवधिमा कहिले तरकारी बढी बिक्री भएर उनी खुशी भइन् भने कहिले बिक्री नभएर दुःखी पनि । तर गृहमन्त्री लामिछानेले दिएको खुशीले उनलाई खुशीभन्दा दुःखी बढी बनायो । वास्तवमा ती आमैको खुशी त्यही एक रात मात्र टिकेको उनको अनुभव छ ।
हरेक दिन बिहान उठेर सामान लिन कालिमाटी पुग्नु उनको दिनचर्या नै हो । त्यही बिहानबाटै ती आमैको सकस सुरु भयो । त्यहाँ उनलाई ‘गृहमन्त्रीले सामान उठाइदिएकी भाइरल आमै’ भनेर सबैले घेरे । उनलाई पनि रमाइलै लागेको थियो । रातारात आफू ठूलै मान्छे बनेको जस्तो अनुभूति पनि उनलाई नभएको होइन । त्यो भीडबाट उनी बल्लतल्ल निस्किन सफल भएकी थिइन् । अनि तरकारीको बोरा बोकेर डेरातर्फ लम्केकी थिइन् ।
डेरा पुगेर तरकारीको बोरा बिसाएकी मात्र थिइन्, छोराको फोन आयो । उनले खुशीले फोन उठाइन् तर राख्ने बेला रुँदै राख्नु प-यो । ती आमैलाई रुँदै फोन राख्नु पर्ने त्यस्तो के आइलाग्यो त ? यसको कारक तिनै गृहमन्त्री लामिछाने रहेछन् ।
उनलाई छोराले टेलिफोनमा भनेका रहेछन्, ‘दुःख देखाएर चौतारोमा बस्ने ? हामी थिएनौँ ? ६ महिनाको नाति हुर्काएँ भनेर महानता देखाएको ?’
त्यसपछि दुई साता बितिसक्यो । फोनको घण्टी बज्यो कि छोराकै आयो कि भन्ने उनलाई लाग्छ । तर, उनीसँग छोरा यति धेरै रिसाएका रहेछन् कि त्यसपछि छोराले फोन नै गरेका छैनन् । न उनले गरेको फोन नै उठाएका छन् । छोराको फोन नआउँदा उनको मन जति रोएको छ, त्यो भन्दा बढी मन छोराले आफ्नो फोन नउठाउँदा रोएको रहेछ । त्यस दिनदेखि उनी नरोएको कुनै दिन छैन । ती वृद्ध आमैले भने, ‘कहिलेकाहीँ फोन त गर्थे छोराछोरीले, अब त फोन पनि उठाउँदैनन् । मसँग रिसाएका छन् ।’
अहिले गृहमन्त्री लामिछानेसँग उनी दिनदिनै रिसाइरहेकी छिन् । रिसको पारो दिनदिनै बढिरहेको छ । ‘१५ सयले मेरो पूरै जिन्दगी चलाइदिएझैँ प्रचार गरेर मलाई भाइरल बनाउनुपथ्र्याे र ? मैले १५ सय त्यतिकै लिएको पनि होइन, सामान बिक्री गरेको पैसा हो । सामानको मूल्य कटाएर आउने नाफा मात्रै मेरो कमाइ हो ।’ अहिले त उनलाई आफूसँग बस्दै आएको नातिले पनि भनिसकेछन्, ‘आमा, तपाईंको सामान किनेजस्तो गरेर तपाईंलाई बेचेका हुन् ।’ नातिको यो कुराले गृहमन्त्री लामिछानेसँग उनी झन बढी रिसाएकी छन् ।
वास्तवमा संविधानले सबै नागरिकलाई गोपनीयताको हकको ग्यारेन्टी गरेको छ । कसैको अनुमतिबिना फोटो खिच्न पनि पाइँदैन । सामाजिक सञ्जालमा पोष्ट गर्नु त झन टाढाको कुरा । अनुमति नलिई खिचेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेमा विद्युतीय कारोबार ऐन अन्तर्गत ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । यही विषयमा मुलुकी फौजदारी संहिताअन्तर्गत उजुरी प¥यो भने १० हजार रुपैयाँ जरिवाना र एक वर्षसम्म कैद हुन्छ । तर, मुलुकको गृहमन्त्रीलाई कसले छुने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया