मनहरीका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

लोकपथ
21
Shares

काठमाडौं । मकवानपुर मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित थप दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

स्थानीय ग्रामीण सडक स्तरउन्नती गर्ने कार्यमा नखनेको स्थानमा समेत खनेको भनी नक्कली बिल भरपाई बनाई सरकारी सम्पत्तिको हानीनोक्सानी पु¥याएको कसुरमा अख्तियारको मुद्दा चलाएको हो । अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, गाउँपालिकाका तत्कालीन इन्जिनियर अमित कुमार ठाकुर र ठेक्का लिने प्रतिक्षा निर्माण सेवा प्रालिका निर्माण व्यवसायी वुध्दिराज कँडेल प्रतिवादी रहेका छन् ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ६ मा पर्ने लोथर–हाङलाङ–फरिवाङ–पाङथली सडक स्तरोन्नती कार्यमा अनिमियतता भएको भन्ने उजुरी परेपछि थालिएको अनुसन्धानमा अनियमितता भएको पाइएको हो । उक्त क्षेत्रमा सडक स्तरोन्नति गर्दा २३ हजार ५९२ दशमलब ३२ घनमिटर माटो कटिङ गरेको भनी बिल भरपाई पेस गरी रकम बुझिलिएको भएपनि अनुसन्धानका क्रममा १५ हजार २५३ दशमलब ३९ घनमिटर मात्रै माटो कटिङ गरेको पाइएको थियो ।

यसरी नभएको काम गरेको भनी नक्कली बिल भरपाइसमेत बनाएर सरकारी सम्पत्तिको हानि नोक्सानी पुराएपछि उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । अख्तियारले नभएको काम गरेको भनी बिल भरपाई बनाएर कुल ३ लाख ९१ हजार ९२९ रुपैयाँ ७१ पैसा भ्रष्टाचार भएको ठहर गर्दै नभएको काम भएको हो भनी प्रतिवेदन दिने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, तत्कालीन इन्जिनियर अमित कुमार ठाकुर र ठेक्का लिने प्रतिक्षा निर्माण सेवा प्रालिका निर्माण व्यवसायी वुध्दिराज कँडेलविरुद्ध जनही ३ लाख ९१ हजार ९२९ रुपैयाँ ७१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?