पोखरा । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीबीच पानी बाराबारको अवस्था छ भन्ने कुरा पोखराको एमाले राजनीति बुझेका सर्वसाधारणलाई पनि थाहा नभएको होइन । उनीहरुबीच यति घृणाको सम्बन्ध छ कि, एकले अर्काको अस्तित्व पनि स्वीकार गर्न सक्दैनन् र मौका परेको अवस्थामा तल्लो तहसम्म उत्रेर तेजोबध गर्न पनि पछि पर्दैनन् । त्यहाँ उनीहरुको छुट्टाछुट्टै ‘गु्रप’ नै छ ।
अहिले गण्डकी प्रदेश एमाले संसदीय दलको नेतामा खगराज अधिकारी छन् । उनी मुख्यमन्त्रीबाट बहिर्गमनमा परेको तीन साता हुँदैछ । मुख्यमन्त्रीबाट बहिर्गमनमा परेका तिनै अधिकारी पृथ्वीसुब्बा निकट भनेर चिनिएका आफ्नै सांसद गणेशमान गुरुङमाथि खनिएका छन् । ह्विप उल्लंघनको आरोपमा एमाले संसदीय दलले गणेशमानसँग स्पष्टीकरण सोधेको छ । गणेशमान ती सांसद हुन्, जो एमाले संसदीय दलका नेता अधिकारीसँग सवाल जवाफ गर्नसक्ने हैसियत राख्छन् । गणेशमानलाई स्पष्टीकरण सोधेर अधिकारीले त्यही रिस फेर्न तथा उनलाई साइजमा राख्न खोजेको पोखरा एमालेवृत्तमा चर्चा छ ।
भएको के हो भने, शुक्रबारदेखि गण्डकीको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो । तर, नीति तथा कार्यक्रम पारित गर्ने बैठकमा सांसद गणेशमान गुरुङ अनुपस्थित रहे । एमालेले सरकारको नीति तथा कार्यक्रममा विपक्षमा रहन ह्वीप लगाएको थियो, जुन कुरा उनले समयमै थाहा पाएनन् । त्यसको पालना नगरेको भन्दै एमालेले उनलाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरको जवाफ तीन दिनाभित्र दिन भनिएको छ । एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले गणेशमानलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । तर, पार्टीको आन्तरिक विषय भएको जिकिर गर्दै उनले थप बोल्न चाहेनन् ।
गणेशमानले भने शुक्रबारको बैठकमा आफू गए पनि ह्विपबारे कुनै जानकारी नभएकाले आफ्नो काममा निस्किएको बताएका छन् । दलको बैठकमा ह्विपबारे कुरा नभएको र मोबाइलमा पठाइएको म्यासेज आफूले साँझमात्र हेरेको उनको भनाइ छ ।
‘मैले हिजो मोबाइल घरमै बिर्सेर गएछु, संसद बैठक बस्नुअघि दलको बैठक बस्थ्यो, हिजो ११ बज्नुअघि नै जाँदा पनि बैठक बसेको थिएन । जनाउ घण्टी बजेपछि म भित्र गएँ,’ उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेँ, मेरो व्यक्तिगत काम परेर म निस्किनु थियो, साढे दुई बजेतिर म निस्किएँ, एक बजेर एक मिनेट जाँदा ह्वीप लगाएको म्यासेज आएको रहेछ, म दिनभर काममै भएँ । म्यासेज हेरिँन ।’ उनले भने, ‘यो मप्रति गरिएको अन्याय हो । म उपचार खोज्छु । साथीहरूसँग कुरा गर्दैछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया