युरो कप–२०२४ : स्पेनलाई क्रोएसियामाथि सहज जित, इटालीसँग अल्बानिया २–१ ले पराजित

लोकपथ
0
Shares

काठमाडौं । युरो कप फुटबलमा स्पेनले क्रोएसियामाथि सहज जित निकालेको छ । जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत समूह बीको पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । शनिवार राति भएको खेलमा स्पेनलाई जिताउन अल्भारो मोराटा, फवियन रुइज र डानी कार्भाजलले एक–एक गोल गरेका थिए ।

२९औँ मिनेटमा मोराटाले फाबियनको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ३२औँ मिनेटमा पेड्रिको पासमा फाबियनले गोल गरेपछि स्पेनको अग्रता दोब्बर भएको थियो । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा डानी कार्भाजलले लामिने यामलको पासमा गोल गरेपछि ३–० को सहज अवस्थामा स्पेन पुगेको थियो ।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि अन्ततः स्पेनले ३–० को सहज जित दर्ता गर्न सफल भयो । जितसँगै समूह बीमा ३ अंक जोडेको स्पेन शीर्ष स्थानमा छ ।

यही समूहमा रहेको डिफेन्डिङ च्याम्पियन इटालीले पनि विजयी सुरुआत गरेको छ । युरोमा डेब्यु गरेको अल्बानियालाई इटालीले २–१ गोल अन्तरले पराजित गरेको हो । खेल सुरु भएको पहिलो मिनेटमै अल्बानियाले अग्रता लिएर सनसनी मच्चाएको थियो । अल्बानियाका नेदिम बज्रामीले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, ११औँ मिनेटमा इटालीले बराबरी गर्दै आफूलाई खेलमा फर्कायो । इटालीका लागि एलेजान्द्रो बास्टोनीले लोरेन्जो पेलिग्रिनीको पासमा गोल गर्दै बराबरी गरेका थिए । १६औँ मिनेटमा निकोलो बरेलाले गोल गरेपछि इटाली २–१ ले अघि बढेको थियो । सोही अग्रता अन्तिमसम्म जोगाउँदै इटालीले ३ अंक जोड्न सफल भयो । इटाली समूह बीमा दोस्रो स्थानमा छ ।

समूह एको अर्को खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । युरो कप अन्तर्गत आइतवार पनि तीन वटा खेल हुने छन् । समूह डीको पोल्याण्ड र नेदरल्याण्डले नेपाली समय अनुसार राति पौने ७ बजे खेल्ने छन् । त्यसैगरी समूह सीका स्लोभाकिया र डेनमार्कले पौने १० बजे खेल्दा राति पौने १ बजे यही समूहका सर्विया र इंग्ल्याण्ड आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?