जब वडाध्यक्षहरु एक एक गरी निस्किए, अनि बालेन…

लोकपथ
2.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिको १५ औं नगरसभाको आज आइतबारको बैठक कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बहिष्कार गरेका छन् ।

बहिष्कारपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले दोस्रोे बैठक असार १० गतेसम्मका लागि स्थगित गरेका छन् । उनले दोस्रो बैठक असार १० गते ११ बजे बस्नेगरी स्थगित गरेका हुन् ।

मेयर शाहले आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

उनले समय दिएलगत्तै कांग्रेस र एमालेबाट निर्वाचित वडाध्यक्षहरु नगरसभाको बैठक बहिष्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो । आजको बैठकमा नयाँ सडकलाई ‘नो भेहिकल जोन’ बनाउने बालेनको प्रस्तावलाई पारित गर्ने तयारी थियो ।

बैठक स्थगनपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेनले महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिएका छन् । ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको भन्दै उनले महानगरको कुनै पनि गतिविधि गोप्य नरहने बताए ।

उनले फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’

बालेनले थप भनेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चैँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगर पालिकाले गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?