कुरिलो खेतीबाट एकै याममा सात लाख मुनाफा

लोकपथ
0
Shares

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा आर्जन गरेका छन् ।

मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गरेका मोक्तानले वार्षिक १६ लाखसम्मको कुरिलो बेचर उक्त मुनाफा गरेका हुन् । सबै खर्च कटाएर सात लाख नाफा कमाएको उनले बताए।

हाल उनले ५० कठ्ठामा कुरिलोखेती गरेका छन् । “यो कुरिलोको सिजन हो, टिप्ने, मुठा पार्ने बजार र पठाउने काममा व्यस्त भइन्छ”, उनले भने । दैनिक ८० देखि एक सय केजीसम्म कुरिलो उत्पादन हुने गरेको उनले बताए । किसान मोक्तानले उत्पादन गरेको कुरिलो स्थानीय बजारका साथै नारायणगढ, पोखरा र काठमाडौँमा खपत हुने गरेको छ ।

गत वर्ष तीस कठ्ठा क्षेत्रफलमा कुरिलोखेती गर्नुभएका मोक्तानले यस वर्ष २० कठ्ठा क्षेत्रफलमा थपेको बताए । गत वर्षभन्दा यो वर्ष अधिक आम्दानी हुने उनी बताउछन् । हाल कुरिलोको खुद्रा बजार मूल्य प्रतिकेजी तीन सय छ र थोकमा मूल्य दुई सय ५० छ ।

लोट्स कृषि तथा पशु फार्म दर्ता गरी जग्गा भाडामा लिएर उनले तरकारीखेती गर्दै आएका छन् । विगत पाँच वर्षदेखि उनी व्यावसायिक खेतीमा लागेका हुन् । उनको बारीमा कुरिलोसँगै घिरौला, भिण्डी, करेला, खरबुजा लटरम्म फेलका छन् । आफ्ना अन्य उत्पादनले भन्दा कुरिलोखेतीबाट अधिक आम्दानी हुने गरेको उनी बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?