मन्त्रिपरिषदद्वारा पारित बजेट अर्थमन्त्रीबाट हेराफेरि !

मुख्यमन्त्री जमकट्टेलले जनाए असन्तुष्टि

लोकपथ
630
Shares

काठमाडौं । शनिबार साँझ सार्वजनिक बागमती प्रदेशको बजेटलाई लिएर मुख्यमन्त्री शालिकराम जमकटेलले नै चर्काे असन्तुष्टि जनाएका छन् ।

प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटलाई अर्थमन्त्री जगन्नाथ थपलियाले आफूखुशी थपघट गरेको उनको आरोप छ । मुख्यमन्त्री जम्मरकट्टेल माओवादीबाट र अर्थमन्त्री थपलिया एमालेका हुन् । मुख्यमन्त्री जमकटेलले अर्थमन्त्री थपलियाले मन्त्रिपरिषदबाट पारित बजेट नै व्यापक फेरबदल गरेको आरोप लगाए । ‘मन्त्रिपरिषदबाट पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेर बजेट ल्याइयो, पारित बजेटका कार्यक्रम नै फेरबदल गर्नुभयो, एमालेका कार्यक्रम थप्नु भयो, प्रदेश सरकारले यो बजेटको स्वामित्व लिनसक्ने अवस्था छैन,’ मुख्यमन्त्री जमकटेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापाले पनि अर्थमन्त्रीले बजेट बढाएर ल्याएको आरोप लगाए । उनले बजेट यथार्थपरक भएन भन्ने आफ्नो पनि बुझाइ रहेको बताए । ‘मुख्यमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षलगायत बसेर स्रोत अनुमानका आधारमा बजेटको आकार निर्धारण गर्ने चलन छ,’ थापाले भने, ‘यसपटक अर्थतन्त्रमा समस्या रहेका कारण चालु आर्थिक वर्षकै हाराहारी बजेट ल्याउने निर्णय भएको थियो । तर अर्थमन्त्रीले बढाएर ल्याउनुभएछ ।’

प्रत्यक्ष निर्वाचित प्रदेश सांसद्को सिफारिसमा कार्यान्वयन हुने परियोजनामा प्रतिनिर्वाचन क्षेत्र ३ करोड र समानुपातिकका लागि १ करोड दिने सहमति भएकोमा अर्थमन्त्रीले त्यो पनि हटाइदिइएको मुख्यमन्त्रीको आरोप छ । ‘बजेट प्रस्तुत गर्नुअघि प्रणाली खोलेर खासगरी नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, मकवानपुरलगायत जिल्लाको योजना व्यापक रुपमा काटिएको छ,’ मुख्यमन्त्री जमकटेललाई उदृत गर्दै स्रोतले भन्यो ।

तर, अर्थमन्त्री थपलियाले भने मन्त्रिपरिषद्ले पारित गरेको बजेट नै संसदमा पेश गरेको र यसबारे मुख्यमन्त्रीलाई जानकारी रहेको दाबी गरे । ‘मन्त्रिपरिषद्ले सबै दफादफामा गएर बजेट पारित गर्ने होइन, अर्थ मन्त्रालयले गरेको प्रस्तावअनुसार बजेट पारित भएको हो, त्यही बजेट मैले संसदमा पेश गरेको हो,’ उनले भने ।

‘मन्त्रिपरिषद्ले पारित नगरिकन बजेट संसदमा नै जाँदैन, त्यसैले मुख्यमन्त्रीलाई यसबारे पर्याप्त जानकारी छ,’ उनले भने, ‘मैले उहाँसँग सल्लाह नै गरेर बजेट बनाएको हो, कुनै कार्यक्रम नपरेको वा बजेट कम परेको भनेर कसैको असन्तुष्टि होला । तर, समग्र बजेटका बारेमा त्यस्तो कुनै समस्या छैन ।’

अर्थमन्त्री थपलियाले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट शनिबार बागमतीको प्रदेश सभामा पेश गरेका थिए । यो चालु आवको बजेटको तुलनामा १ अर्ब ६३ अर्बले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?