२ अर्ब ८० करोड निक्षेप अपचलन गर्ने तेजविक्रम थापासहित ४ जना सार्वजनिक

आफैँ अध्यक्ष रहेको दर्जन कम्पनीमा लगानी

लोकपथ
1k
Shares

काठमाडौं । सर्वसाधारण निक्षेपकर्ताको २ अर्ब ८० करोड रुपैयाँ निक्षेप अपचलन गर्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापा पक्राउ परेका छन् । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) ले थापासहितका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

निक्षेपकर्ताको निक्षेप सङ्कलन गरी फिर्ता नदिई फरार रहेका सहकारीका अध्यक्ष तेज विक्रम थापासहित ४ जनालाई अपराध महाशाखाले शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष तेजविक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार र सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूले आकर्षक ब्याज रकम दिन्छु र चाहिएको समयमा बचत झिक्न पाइन्छ भनी निक्षेपमा रकम राख्न लगाएर बचत फिर्ता नगरी सहकारीको रकम अपचलन गरेर उनीहरू फरार भएका थिए । सञ्चालक तथा सदस्यहरू फरार रहेपछि ५६६ जना निक्षेपकर्ताहरुले २०८० पुस १९ गते जिल्ला प्रहरी परिसर, ललितपुरमा ठगीको कसुरमा जाहेरी दर्ता गराएका थिए । त्यस लगत्तै उनीहरू फरार भएका थिए । ललितपुर प्रहरीले उनीहरुविरुद्ध अदालतबाट पक्राउ अनुमति समेत लिएको थियो ।

निक्षेपकर्ताको रकमबाट दर्जनौँ कम्पनी खोलेर रकम अपचलन

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रहेका थापाले करिब एक दर्जन कम्पनी दर्ता गरेर निक्षेपकर्ताको करोडौँ रकम अपचलन गरेको पाइएको छ । थापा २०५६ सालमा १७ वर्षको हुँदा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चिफ अकाउण्टेण्ट र संस्थापक रही सहकारी खोलिएको थियो ।
२०६० सालदेखि थापा निरन्तररुपमा उक्त सहकारीको अध्यक्ष पदमा रहेका छन् । त्यस्तै २०६६ सालमा कृषि ईन्भेष्टमेन्ट प्रालि दर्ता गरी त्यसको अध्यक्ष रहेका छन् । थापाले २०६६ सालमै भक्तपुरमा समिट अस्पताल समेत सञ्चालन गरी सो अस्पतालको अध्यक्ष भई कामकाज गरिरहेका थिए ।

निक्षेपकर्ताकै रकमबाट थापाले २०७० सालमा अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेसन उद्योग सञ्चालनमा ल्याएका छन् र उनी त्यहाँ पनि अध्यक्ष छन् । थापाले २०७० सालमै कृषि फ्रेस प्रालि स्थापना गरी काठमाडौं उपत्यकाको १४ स्थानमा मार्ट र विक्री केन्द्र सञ्चालन गरिरहेका छन्, उनी त्यस संस्थाको पनि अध्यक्ष छन् ।त्यस्तै २०७१ सालदेखि उनले कृषि टेलिभिजन सञ्चालनमा ल्याएका छन् र उनी टेलिभिजनमा अध्यक्ष छन् ।

थापाले २०७३ सालमा साझा संसार मिडिया नेटवर्क नामक कम्पनी खडा गरी गोरखा टेलिभिजनसमेत चलाएका छन् । उनी त्यस टेलिभिजनको पनि अध्यक्ष हुन् । तेज विक्रम थापाले २०७१ सालबाट ईन्टेन्सिव मल्टीप्रपोज एग्रिकल्चर कम्पनी प्रालि समेत दर्ता गरी सञ्चालन गरिरहेका छन् र उनी त्यहाँ पनि अध्यक्ष नै रहेका छन् । थापाले २०७६ सालदेखि यति टेक्निक प्रालि नामक कम्पनी समेत सञ्चालन गरी त्यहाँ पनि अध्यक्ष रहेका छन् ।

थापाविरुद्ध चेक बाउन्सका मुद्दै मुद्दा

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापाविरुद्ध दायर चेक बाउन्सका दुई मुद्दामा उनी दोषी ठहर भएका छन् भने तीन वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । थापाविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दर्ता भई अदालतमा पुगेको २६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले दुई वटा मुद्दामा दोषी ठहर भइसकेका छन् ।
त्यस्तै सोही रकम बराबर काठमाडौं प्रहरीमा परेको जाहेरीमा उनी फरार थिए भने ललितपुरमै १५ लाख रुपैयाँ र ९५ लाख रुपैयाँको दुई वटा चेक बाउन्सको मुद्दामा समेत उनी फरार रहेका थिए । थापासहितका चारै जनालाई आइतबार नै जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?