सङ्खुवासभा बाढीपहिरो : १० वर्षमा २१ जनाको मृत्यु, ३८ जना बेपत्ता

लोकपथ
0
Shares

सङ्खुवासभा । सङ्खुवासभामा हरेक वर्ष बाढीपहिरोका कारण जनधनको क्षति हुने गरेको तथ्याङ्क छ ।

जिल्लाका विभिन्न स्थानमा बर्सेनि विपद्बाट धेरै नागरिकले ज्यान गुमाउनाका साथै ठुलो आर्थिक क्षतिसमेत हुने गरे पनि पीडित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यको ध्यान पुगेको छैन ।

पछिल्लो समय जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । विगत १० वर्षयताको तथ्याङ्क हेर्दा एक सय सातवटा पहिरोबाट १६ जनाको ज्यान गएको छ भने १९ जना बेपत्ता छन् ।

बाढीका कारण पाँचजनाको मृत्यु र १९ जना बेपत्ता भएका तथ्याङ्क छ । विसं २०७० देखि २०८१ असारसम्म सङ्खुवासभामा दर्जनौँ बस्ती विस्थापित भएका छन् । विसं २०८० असार २ गते हेवाखोलामा बाढी आउँदा हाइड्रोपावरमा कार्यतर १७ जना बेपत्ता भएका थिए । त्यस्तैगरी, विसं २०७७ असार २७ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा ११ जना बेपत्ता बनाएको थियो ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा तीनवटै सुरक्षा निकायमा खोज तथा उद्धारका लागि २९ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए ।

यस वर्षको मनसुन गत जेठ २८ गतेदेखि सुरु भएकाले मनसुनबाट हुने क्षतिलाई कम गर्न, तत्काल खोज तथा उद्धार गरी राहत वितरण एवं पुनःस्थापनालाई प्रभावकारी बनाउने निर्णय गरिएको प्रजिअ खड्काले बताए । उनका अनुसार जिल्लाका ७६ वडामध्ये ३६ वडाले बाढीपहिरोको क्षति बेहोर्नु परिरहेको छ ।

गत जेठ ३१ गते आएको अविरल वर्षासँगैको पहिरोले तीन घर बगाएको थियो भने दुई दर्जन बढी घर विस्थापित भएका छन् । खाँदबारी–११ आङ्लास्थित कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिराले बगाएको हो ।

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ । कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । यो कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्दछ । पानीले सडकमा करिब एक करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ ।

मनसुनजन्य प्रकोपबाट दुईजनाको मृत्यु र ६ जना बढी घाइते भएका छन् । बाढीपहिरोका कारण तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको प्रजिअ खड्काले जानकारी दिए । उनका अनुसार बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ ।

यही जेठ २१ गते वर्षासँगै आएको बाढीपहिरोले भोटखोला–४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुईवटा गाडी समेत पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले भोटखोला–४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी, स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ बराबरको भौतिक क्षति भएको प्रजिअ खड्काको भनाइ छ ।

पहिरोले भोटखोला–४ मा निर्माणाधीन पाँच शय्याको अस्पताल र सोही वडाको सेम्बुङमा रिदर ज्याबु भोटे पुरिएको छ । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?