ऋणको आडमा पटक पटक बलात्कार र उल्टै घरजग्गा कब्जा

अदालतले तोक्यो पीडकलाई १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना

लोकपथ
2.7k
Shares

ललितपुर । जिल्ला अदालत ललितपुरले मिटरब्याजी सूर्जमान मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा १० वर्ष कैद र ५० हजार जरिवाना हुनेगरी सजाय निर्धारण गरेको छ । ललितपुर जिल्ला अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले गत जेठ १३ गते मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो । सोही अनुरुप आइतबार सजाय निर्धारण गरिएको हो । माली कारागारमा छन् ।

पाँच लाख रुपैयाँ ऋण दिएको आडमा आफूमाथि लगातार बलात्कार गरिएको र घरजग्गा कब्जासमेत गरिएको भन्दै ललितपुरकी एक महिला मालीविरुद्ध अदालत गएकी थिइन् । जिल्ला अदालतले मालीले पीडित महिलालाई पाँच लाख रुपैया क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ । यस्तै, ती महिलालाई यौन शोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश जिल्ला अदालतले गरेको छ ।

मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट २०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएपछि पीडित महिलाको दुःखको दिन सुरु भएको थियो । त्यसबेला मासिक ५० हजार रुपैयाँ ब्याज तिर्नेगरी ती महिलाले ऋण लिएकी थिइन् । यद्यपि, ती महिलाको ब्याज तिर्ने हैसियत भने थिएन ।

आयआर्जन नभएकी ती ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याजसमेत तिरेकी थिइन् । त्यसपछि भने ऋणको ब्याज घटाइदिने भन्दै मालीले उनीमाथि यौन शोषण गरेका थिए । ब्याज घटाइदिने बहानामा मालीले पटक पटक बलात्कार गरेका थिए । साथै अरुलाई पनि यौन शोषण गर्न लगाएका थिए । तर माली र उनका साथीबाट पटक पटक बलात्कृत भइरहँदा पनि ब्याज घटेन । बरु बलात्कारको विषय सार्वजानिक गरिदिने भन्दै ५५ लाख रुपैयाँको (मिटरब्याज) तमसुक गराएर उनको घरजग्गा नै कब्जा गरेका थिए ।

यो विषयलाई लिएर पीडित महिलाले २०८० साउन १४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचविखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत ‘मानव बेचबिखन तथा ओसारपसार’ सम्बन्धी कसुर मुद्दामा जाहेरी दर्ता गरेकी थिइन् । सोही कसुरमा ललितपुर जिल्ला अदालतमा २०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?