कठिनाइपूर्वक प्राप्त गरेका विकासका लाभहरू उल्टिने जोखिम छ : प्रधानमन्त्री दाहाल

लोकपथ
56
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका प्रभावहरूले संवेदनशीलतालाई अझ बढाएको उल्लेख गर्दै नेपालमा कठिनाइपूर्वक प्राप्त भएका विकासका लाभहरू उल्टिने जोखिम रहेको बताएका छन् ।

नेपालजस्ता अल्पविकसित देशहरूको लागि सहुलियतपूर्न वित्तीय सहायता महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपालजस्ता देश संवेदनशील भएको बताएका हुन् । “हामी धेरै सङ्कटहरूमा संवेदनशील छौं, र हामीले कठिनाइपूर्वक प्राप्त गरेका विकास लाभहरू उल्टिने जोखिम छ,” प्रधानमन्त्री दाहालले भने ।

यस्तै दाहालले विश्वव्यापी उत्सर्जनमा नगन्य योगदान दिँदा पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव र असरको चुनौती सामना गरिरहनु परेको उल्लेख गर्दै जलवायु असरबाट भएको क्षतिको न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।
दाहालले भने, “हाम्रो नियन्त्रण बाहिरका परिस्थितिका कारण भएको क्षति र हानिको क्षतिपूर्ति पाउनका लागि हामीले जलवायु न्यायको पक्षमा वकालत गरिरहेका छौँ ।”
दाहालले विनाशकारी भूकम्प, विपद्, विश्वव्यापी महामारी र विश्वव्यापी आर्थिक चुनौतीका कारण नेपालको आर्थिक विकास र समृद्धिमा चुनौती थपिएको बताए ।
राजनीतिक स्थिरतापछि यहाँका पर्याप्त सम्भावनालाई उपयोग गर्दै आर्थिक विकासको बाटोमा दृढ रूपमा नेपाल अघि बढेको जानकारी गराउँदै दाहालले एशियाका दुई ठूला अर्थतन्त्रहरूबीचमा रहेको नेपालमा जलविद्युत, पर्यटन र कृषि व्यवसाय क्षेत्रहरूमा राम्रो विकासको सम्भावना रहेको बताए । उनले मेहनती युवा जनसङ्ख्या नेपालको विकासका लागि सबल पक्षको रुपमा चित्रण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?