समाजलाई मोती जस्तै चम्काउँदै मोती पुस्तकालय

लोकपथ
0
Shares

गण्डकी । झन्डै ६५ वर्षअघि स्थापना भएको मोती पुस्तकालय पर्वत जिल्लाको मात्र नभएर देशकै सामाजिक जागरणको दियो बन्दै आएको छ। जिल्लाको फलेवास नगरपालिका–५, खानीगाउँमा २०१६ सालमा स्थापित यस पुस्तकालय स्थापनापश्चात् सामाजिक जागरण र सचेतनाको महत्वपूर्ण केन्द्रका रुपमा पहिचान मात्र बनाएको छैन, देशका अन्य पुस्तकालयका लागि पनि अनुकरणीय बनेको छ।

स्व। मोतीप्रसाद लम्सालको स्मृतिमा सुरुमा घरको पिढीमा काठको फल्याकले बारेर एउटा कोठाबाट सुरु गरिएको यो पुस्तकालय अहिले सुविधा सम्पन्न भवनमा व्यवस्थित रुपमा सञ्चालन भएको छ। २०६३ सालमा समसामयिक विषयका लेखनहरूको सङ्कलन ‘मोती’ प्रकाशन गरी सोहि पुस्तक विक्री र विज्ञापनवाट सङ्कलित नौ लाख रुपैयाँ रकम समेत गरी पुस्तकालयका लागि एक रोपनी जग्गा खरिद गरिएको थियो।

सुरुमा रिड नेपालले भवन निर्माणका लागि १३ लाख र फर्निचर तथा किताबका लागि पाँच लाख सहयोग गरेको पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले जानकारी दिए। उनका अनुसार २०६४–६५ सालमा भवन निर्माण सुरु गरी २०६९ सालमा १९ कोठे पक्की भवन निर्माण सम्पन्न भएको थियो। भवन निर्माणका लागि शिक्षा मन्त्रालयले ४५ लाख उपलब्ध गराएको लम्सालले जानकारी दिए। पुस्तकालयमा हाल २५ हजार पुस्तकहरू रहेका छन्। पुस्तकालयका लागि पछि एक रोपनी जग्गा समेत थपिएकामा त्यहाँ शहरी विकास मन्त्रालयको ३० लाख सहयोगमा अर्को १५० जना क्षमताको सभा कक्ष निर्माण भैरहेको उनले जानकारी दिए।

पुस्तकालय स्थापनासँगै यसले यस क्षेत्रमा शैक्षिक जागरणका साथै सामाजिक सचेतना अभिवृद्धिमा पनि विशिष्ट योगदान पुुगेको उनको भनाइ छ। हरेक दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुने यस पुस्तकालयमा दैनिक विभिन्न उमेर समूहका पाठकहरू आउने गरेका छन्।

समाजमा पठन संस्कृति हराउँदै गएको बेला यस पुस्तकालयमा भने दैनिक ६०–६५ जनासम्म पाठक आउने गरेको पुस्तकालय व्यवस्थापन समितिका सचिव एवम् लाइब्रेरियन इन्द्रप्रसाद सापकोटाले जानकारी दिए।

उनका अनुसार पुस्तकालयमार्फत नै पर्वत जिल्लाका १७० विद्यालयमा ‘सामुदायिक विद्यालयमा ‘विद्यालय पुस्तकालय कार्यक्रम’ सञ्चालन गरिएको छ। ती विद्यालयमा पुस्तकालयका तर्फबाट आवश्यक साथ सहयोगसँगै समयसमयमा अनुगमन तथा कार्यक्रमहरू सञ्चालन गरिएको छ।

पर्वत जिल्लामा रहेका सामुदायिक तथा सरकारी विद्यालयमा पठन संस्कृतिको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको सापकोटाले जानकारी दिए। पुस्तकालयले समयसमयमा सञ्चालन गर्दै आएको घुम्ती पुस्तकालय सेवा पनि समाजका लागि बहुउपयोगी बनेको छ। समाजमा पठन संस्कृतिको विकास गर्न पाठ्यसामग्री झोलाझोलामा राखेर पुस्तकालयमा आउन नसक्ने अशक्त व्यक्तिको घर र टोलमा जाने अभियानले सामाजिक जागरणमा विशेष टेवा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?