अछाम । छिमेकीको घरमा जन्मदिन मनाएर फर्कंदै गर्दा महिनावारी भएपछि छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी छाउगोठमै बलात्कृत भएकी छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा मामाघरमा बसेर पढिरहेकी ती किशोरी सोमबार मध्यराति मामा नाता पर्नेबाट बलात्कृत भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । प्रहरीले आरोपित १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ ।
छाउगोठमा बसेकी ती युवती राति २ बजे पिसाव फेर्न छाउगोठ बाहिर निस्केको बेला बलात्कारमा परेको प्रहरीले जनाएको छ । उनलाई बेहोस भएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो । झण्डै १२ घण्टा बेहोस भएकी उनले होस खुलेपछि आफूमाथि भएको घटना प्रहरीलाई सविस्तार सुनाएकी थिइन् । मंगलबार दिउँसो साढे १२ बजे उद्धार गरेर अस्पताल पु-याइएकोमा दिउँसो ३ बजे मात्रै उनको होस खुलेको थियो ।
‘सुरुमा बेहोस हुने समस्या हो भन्दै जिल्ला अस्पताल मंगलसेन पु-याए पनि ती किशोरी होसमा आएपछि बलात्कार भएको कुरा बाहिर आएको हो,’ डीएसपी पाठकले भने । डीएसपी पाठकले घटनास्थलको प्रकृति बताउँदै भने, ‘छाउगोठ बाहिर मकैका बोट पनि भाँचिएका छन् । केही रङ पनि देखिन्छ ।’
जिल्ला अस्पताल अछामकी सूचना अधिकारी गंगा बुढा मगरले अस्पताल ल्याएको ३ घण्टापछि मात्रै पीडितलाई होस आएको बताइन् । भनिन्, ‘हाम्रो अनुमानमा किशोरी लगभग १२ घण्टा जति बेहोस भएको देखिन्छ । गाउँमा छारेरोग लागेको र नजिक गए रोग सर्छ भनेर कसैले पनि नछोएको देखियो ।’ उनका अनुसार इमर्जेन्सी वार्डमा होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा थिइनन् ।
जिल्ला अस्पतालको ओसीएमसीमा लगेर काउन्सिलिङ गरेपछि मात्रै उनले घटनाबारे विस्तृतमा बताएकी थिइन् । अस्पतालका एक कर्मचारीका अनुसार मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको किशोरीले बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया