काठमाडौं । दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए ।
स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुनुको साथै । कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार उनले व्यक्त गरे । ‘
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले योगले आत्मा र शरीरको सम्बन्ध सुधार गर्ने बताउँदै मस्तिष्कको असीमित क्षमतालाई उजागर गर्न योग विज्ञान महत्वपुर्ण हुने उल्लेख गरे । देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उनले व्यक्त गरे।
त्यस्तै कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरे। एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उनले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे ।
सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्र, पतंजली युवा नेपाल समितिका केन्द्रीय संयोजक लोकनाथ खनाल र महिला पतंजली योग समिति नेपालका सह केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया