प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि प्रहरी जवान गोलेले आफैलाई गोली हानेको खुलासा

गोली हान्नुअघि प्रेमिकासँग उनले भिडियो कलसमेत गरेका थिए

लोकपथ
8.6k
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनभित्र आफैलाई गोली हानी आत्महत्या गरेका प्रहरी जवान अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि सो घटना गराएको खुलासा भएको छ ।

गोलेले करिब ५ महिनाअघि आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट (टिकाटालो) गरेको र त्यसपछि आफ्नै खर्चमा उनलाई दुबई पठाएको प्रहरी स्रोतले जनाएको छ ।

तर दुबई पुगेपछि भने प्रेमिकाले उनलाई वास्ता गर्न छाडेका थिए । यसैलाई लिएर दुई जनाबीच विवाद पनि हुने गरेको थियो ।
घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको थियो । आफैलाई गोली हान्नु अघि उनले प्रेमिकासँग पनि कुराकानी गरेको प्रहरी स्रोतको भनाइ छ । बुधबार बिहान आत्महत्या गर्नुअघि समेत ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको समेत देखिएको छ । भिडिओ कल र घटना पनि एकै समयमा भएको पाइएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको छ ।

भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको उनले सुनाए । उनले आफैंले बोकेको इन्सास बन्दुकबाट १ राउण्ड गोली हानेको पाइएको छ ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो । उनी २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?