सिधाकुराविरुद्धको मुद्दा कम्तीमा ७ न्यायाधीशको इजलासमा सुनुवाइ हुने

लोकपथ
266
Shares

काठमाडौं ।

सिधाकुरा डटकमले प्रकाशन गरेको डार्क फाइलसम्बन्धी मुद्दा सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
गत जेठ ३० गते सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले गरेको आदेश अनुसार उक्त मुद्दा बृहत पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो ।


सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदनबाट दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा अब कम्तीमा ७ न्यायाधीश रहेको बृहत पूर्ण इजलासबाट सुनुवाइ हुने भएको हो ।


सिधाकुरा डटकमले द डार्क फाइलका नाममा प्रकाशन गरेको अडियो झुटो भएको सिआइबीको प्रतिवेदनसमेत आइसकेको र उक्त कार्यले अदालतको अवहेलना भएको हो कि होइन र भविष्यमा अदालतको अवहेलना र न्यायाधीश लगायतका व्यक्तिको मान सम्मानमा आँच आउन नदिन गर्नुपर्ने कार्यका सम्बन्धमा व्याख्या गर्नुपर्ने भएकाले सो मुद्दालाई बृहत पूर्ण इजलासमा पठाउन लागिएको हो ।


सर्वोच्चको आदेशमा यसअघि कान्तिपुर पब्लिकेसन्स प्रालि विपक्षी रही तोयानाथ ढुङ्गानाद्वारा दायर अदालतको अवहेलनासम्बन्धी मुद्दामा भएको व्याख्यासमेतलाई विश्लेषण गरी कम्तीमा सो मुद्दामा भएका न्यायाधीशको सङ्ख्याभन्दा बढी न्यायाधीश रहने इजलासमा पेस गर्न आदेश भएको हो । साथै सिधाकुरामा प्रकाशन भएको सामाग्रीले अदालतको मान मर्दन र अवहेलना भएको हो कि र भविष्यमा त्यस्तो कार्य हुन नदिन गर्नुपर्ने कार्यसमेतको विषय सम्बोधन गर्नुपर्ने भन्दै सो मुद्दामा सम्मिलित न्यायाधीशभन्दा कम नरहने गरी बृहत पूर्ण इजलासमा पठाउने आदेश भएको हो ।


स्मरणीय के छ भने तोयानाथ ढुङ्गाना रिट निवेदक रही कान्तिपुर पब्लिकेसन्स प्रालि विपक्षी रहेको उक्त मुद्दामा दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउत रहेको बृहत पूर्ण इजलास गठन भएको थियो ।


अबको यो मुद्दामा पनि कम्तीमा ७ न्यायाधीश वा सोभन्दा बढी न्यायाधीश रहेको इजलासमा सुनुवाइ गर्नुपर्ने भएको छ ।

हेर्नुहोस् सर्वोच्चको आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?