साउदीका नेपाली श्रमिकका समस्याबारे परराष्ट्रमन्त्रीसँग सरोकारवालाको गुनासो

लोकपथ
308
Shares

काठमाडौं ।
साउदी अरबमा रहेका नेपाली श्रमिक र नागरिकका समस्याका सम्बन्धमा सरोकारवालाले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन् । बुधवार नेपाली जनसम्पर्क समिति साउदी अरब र मलेसियाका प्रतिनिधिले भेट गरी नेपाली श्रमिकका समस्याबारे जानकारी गराएका हुन् ।


नेपाली काँग्रेसनिकट नेपाली जनसम्पर्क समिति साउदी अरबका सभापति तुसुङ (अर्जुन) थापाले साउदी अरबमा अवैधानिक रूपमा रहेका र विभिन्न समस्यामा परी नेपाल फर्कन नपाएका नेपाली श्रमिकका सम्बन्धमा परराष्ट्रमन्त्री श्रेष्ठसँग छलफल गरेका हुन् ।


नेपाल फर्कन चाहने नेपाली नागरिकहरू विविध कारणले नेपाल फर्कन नपाएको, दूतावासमा कर्मचारी अभावले गर्दा राम्रोसँग काम गर्न नसकेको लगायतका विषयमा कुराकानी गरेका छन् । त्यसैगरी अवैधानिक रूपमा साउदी अरबमा रहेका नेपालीलाई नेपाल फर्कनका लागि निशुल्करुपमा ट्राभल डकुमेन्ट जारी गरिदिन, साउदी अरबको बीमा लगायतबाट पाउनुपर्ने रकम करिब ६ सय जनाको परिवारले नपाएको कारण त्यसमा पहल गरिदिन पनि सरोकारवालाले परराष्ट्रमन्त्री श्रेष्ठसँग आग्रह गरेका छन् ।


त्यसैगरी साउदीमा नेपाली श्रमिकहरूले भोग्नु परेका विभिन्न समस्याहरूको बारेमा जानकारी गराउँदै सरकारले गर्नुपर्ने पहलका लागि उनीहरुले मन्त्री श्रेष्ठसँग सहयोगको माग गरेका छन् ।


बुधवार नै नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको समूहले पनि परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरी मलेसियामा रहेका नेपाली श्रमिकका समस्याबारे जानकारी गराएका छन् ।


भेटपछि परराष्ट्रमन्त्री श्रेष्ठले खाडी मुलुकमा रहेका नेपालीका समस्याका सम्बन्धमा चाँडै नै जुम मिटिङ राखेर छलफल गर्ने र समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी तुसुङ थापाले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?