काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले पदबाट राजिनामा दिएकी छन् । उनले दिएको राजिनामा पत्रमा आफूले अध्यक्ष पद त्यागेको र आफूलगायत परिवारका सदस्य अबदेखि राप्रपाको साधारण सदस्य र भोटरसमेत नरहेको उल्लेख गरेकी छन् ।
उनले राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङलाई सम्बोधन गरेर पदबाट राजीनामा दिएकी हुने । उनले राजिनामा पत्र सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिकसमेत गरेकी छन् । राजिनामा पत्रमा उनले सहकर्मी साथीहरुलाई आफूसँग काम असहज पैदा भइरहेको र आफूले सहयोग नपाएको उल्लेख गरेकी छन् । यो विषयमा पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीलाई जानकारी गराउँदा पनि सुनुवाई नभएको उल्लेख गरेकी छन् ।
गत बैशाख २५ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् । जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन् । त्यसअघि राप्रपाले उनलाई राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको तदर्थ समिति अध्यक्षमा २०७९ असार २ गते मनोनीत गरेको थियो ।
राजीनामा पत्रमा बोधार्थ अध्यक्ष राजेन्द्र लिङ्देन र संयोजित संगठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई दिइएको छ। आफ्ना सहकर्मीलाई आफ्ना कारणले कामकाजमा अप्ठेरो परेको भन्दै उनले बुधबार राजीनामा दिएकी हुन् ।उनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष, राप्रपाको साधारण सदस्यबाटै आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया