जीबी राईको लोकेशन पत्ता लागिसक्यो, नेपाल ल्याउने विषयमा पहल भइरहेको छ : गृहमन्त्री लामिछाने

लोकपथ
252
Shares

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी गीतेन्द्रबाबु (जीबी) राईको ‘लोकेशन’ पत्ता लागिसकेको दाबी गरेका छन् । उनले राईलाई नेपाल फर्काउन मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग आफ्नो लगातार सम्पर्क भइरहेको पनि बताएका छन् ।

श्री एयरलाइन्सको परीक्षण उडानका लागि आज बिहीबार बिहान भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै जीबी राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताएका हुन् ।

‘जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ । त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको छ तर कोशिस जारी छ,’ उनले भने । राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा राईसँगै लामिछाने पनि आलोचित छन् ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशिया सरकारलाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जवाफ दिएको छैन ।

नेपालले राईमाथि नेपालमा लागेका आरोप, उनलाई पक्राउ गर्न इन्टरपोलबाट जारी भएको सूचना सहितका विवरण मलेशियालाई पठाए पनि उनी मलेसियामा रहे वा नरहेको आधिकारिक जानकारीसमेत मलेसियाले नेपाललाई आधिकारिक जानकारी गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?